६ बैशाख २०८१, बिहीबार
Follow Us

घातक बन्दै विवाहइतर सम्बन्ध, परिणाम : हत्यादेखि आत्महत्यासम्म

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार ०२:३३

काठमाडौं। पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ ।
गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर र छोरी विनिता आलेमगरले एउटै कोठामा सलको पासो लगाएर आत्महत्या गरे । नेपाली सेनाको प्युठ पदमा जागिरे उनका श्रीमान्् बिदामा घर आएका बेलासमेत आफूसँग सरसल्लाह नगरी घर छाडेर बसेको भन्दै माया आलेसहित तीनै जनाले आत्महत्या गरेका थिए ।
छोरा विवेकको सुसाइड नोटका आधारमा बाबुको बाहिरी सम्पर्ककै कारण आमाले चित्त दुखाएको र तीनै जनाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । पछि मायाले श्रीमान््लाई आत्महत्याअघि गरेको म्यासेजसमेत प्रहरीले फेला पारेको थियो ।

आत्महत्याअघि मायाले श्रीमान््लाई गरेको म्यासेजमा लेखिएको थियो, ‘अब हामी तपाईंलाई दुःख दिने छैनौं, सधैं अरूको कुरा सुन्नु, गुडबाई, तपाईंको प्रगति होस् ।’यसैगरी, गत २० साउनमा पत्रकार शालिकराम पुडासैनीले समेत विवाहइतर सम्बन्धकै कारण आत्महत्याको निर्णयमा पुगेको देखिएको छ । उनले चितवनको भरतपुरस्थित कंगारु होटलमा झुन्डिएर आत्महत्या गरेका थिए । यसैगरी, ३२ साउनमा सुनधाराको एक होटलमा सासूससुरासहित बसेकी तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङले समेत होटलको चार तलामाथिबाट हामफालेर आत्महत्या गरेकी थिइन् । प्रहरी अनुसन्धानले उनले समेत पारिवारिक खटपटकै कारण आत्महत्या गरेको देखाएको छ ।राजधानी दैनिकमा याे खबर छापिएकाे छ।