१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

sarusaru
११ भाद्र २०७६, बुधबार १३:४८

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार तालाबन्दी भएको छ । प्रतिष्ठान बचाऔं अभियानले उपकुलपति डा. संगिता भण्डारीको राजीनामा माग गर्दै प्रशासनिक भवनका सबै कक्षका साथै मूल गेटमा तालाबन्दी गरेको हो ।अभियानका संयोजक विकिरण गौतमको संयोजकत्वमा गएको एक टोलीले कर्मचारीलाई बाहिर निकाली ताला लगाएको हो ।

 

मूल गेटमा ताला लगाउने क्रममा प्रहरी र अभियानको टोलीबीच केहीबेर झडप भएको थियो । उपकुलपति भण्डारीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको, चिकित्सकहरुलाई काम गर्ने वातावरण नदिएको र स्वास्थ्य सेवा महंगो बनाएको भन्दै प्रतिष्ठान बचाऔं अभियान आन्दोलनमा उत्रिएको हो ।

तालाबन्दीका क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि हातपात भएको र ढोकाको सिसा फुटाइएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । प्रहरीले सबै ताला फुटाएर प्रशासनिक भवन सञ्चालनमा ल्याइसकेको उनले जानकारी दिए ।

प्रतिष्ठानमा कार्यरत २३ डाक्टरहरुले काम गर्ने वातावरण बनाइदिन या राजीनामा स्वीकृत गर्न उपकुलपति डा. संगिता भण्डारीलाई आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । ८ बुँदे मागपत्र पेश गर्दै उनीहरुले माग पूरा नहुँदासम्म इमरजेन्सी बाहेकका स्वास्थ्य सेवा दिन नसक्ने बताएका थिए ।

आइतबार नै उपकुलपति भण्डारीले करारमा नियुक्त ९ डाक्टरको करार भंग गरेकी थिइन् । त्यसमध्ये इन्टर्नसिपमा आएका पाँच जना फेरी काममा फर्किएका छन् । अन्य डाक्टर अझै काममा आएका छैनन् । डाक्टर पूरा नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

डाक्टरहरुले कुनै पनि डर धम्की र मानसिक यातना नदिई बिरामी जाँच गर्ने वातावरण बनाउन र अस्पतालका सम्बन्धित विभागका प्रमुखहरुसँग नियमित परामर्श नगरी एकलौटी निर्णय गर्ने परिपाटी बन्द गर्न माग गरेका छन् ।

नागरिक समाज, मानवअधिकार सञ्जाल, पत्रकार महासंघ लगायतका संघसंस्थाले प्रेस विज्ञप्ती जारी गरी प्रतिष्ठानमा उत्पन्न समस्याप्रति गम्भीर भई नागरिकको सर्वसुलभ र सहजरुपमा स्वास्थ्य सेवा पाउने अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले भने गलत काम गर्ने चिकित्सकलाई कारबाही गर्न खोज्दा विरोध भएको बताएकी छन् । डा. मनोज यादवले प्रतिष्ठानमा आएका बिरामीलाई निजी ल्याबमा पठाएर कमिशन बुझेको थाहा पाएपछि हटाएको उनले बताइन् । विशेषज्ञ चिकित्सकमध्ये प्रतिष्ठानबाट नियुक्त चारजना मात्रै रहेको र तीमध्ये अर्थोपेडिक डा. अनिल यादव बाहेक सबै काममा रहेको उनले बताइन् । अन्य विशेषज्ञ चिकित्सकहरु सरकारी सेवा अन्तर्गत रहेको र समायोजनका क्रममा अन्यत्रै जाने भएकाले प्रतिष्ठानले विकल्प खोज्नैपर्ने बाध्यता रहेको भण्डारीले बताइन् । करार भंग भएका मेडिकल अधिकृतको ठाउँमा नयाँ विज्ञापन खोलिसकेको उनले जानकारी दिइन् ।
कान्तिपुर