१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकमानको तीरले कांग्रेसले दुईवटा शिकार गर्ने

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७३, सोमबार ०५:५७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा नेपाली कांग्रेसले खुल्न थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार संविधान संशोधनमा एमालेलाई सहमति गराउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कांग्रेसले सिफारिस गरेको व्यक्तिलाई नियुक्ति गरिने भएको छ ।
संविधान संशोधन गर्न एमाले सहमति भएसँगै आफ्नो पार्टीले सिफारिस गरेको व्यक्तिलाई प्रमुख आयुक्तमा नियुक्ति गरिने भएकाले पार्टी सभापति शेरबहादुर देउवाले गत शुक्रबार भारत जानु अघिल्लो दिन विहीबार आफ्ना सहयोगीहरु भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक तथा उप तथा गृहमन्त्री विमलेन्द्र निधिसँग लोकमानको विकल्पमा उपयुक्त पात्र को हुन्छ भन्ने विषयमा छलफल चलाएका थिए । कांग्रेसको तर्फबाट अख्तियारमा पठाइएकी सावित्री गुरुङ थापाको प्रस्तुति प्रभावकारी नदेखिएकाले सभापति देउवाले लोकमानको विकल्प खोज्न मन्त्रीद्वय निधि र लेखकलाई निर्देशन दिएका हुन् ।
लोकमान रुपी तीरले कांग्रेसले दुईवटा शिकार गर्ने भएको छ । पहिलो संसदमा एमालेलाई संविधान संशोधन गर्न सहमत गराएको छ भने दोश्रो अख्तियारमा प्रमुख आयुक्त पद आफूले सिफारिस गरेको व्यक्तिलाई नियुक्ति दिलाउने छ । लोकमानलाई साथ दिँदा सर्वसाधारणमा धुमिल भएको इमेज पछिल्लो निर्णयले कांग्रेस सुझबुझपूर्ण राजनीति गर्छ भन्ने प्रमाणित हुनेछ ।