६ बैशाख २०८१, बिहीबार
Follow Us

पुनम गुरुङकै पक्षमा एक ढिक्का हुने मिडल्याण्डवासीको निर्णय

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७६, बिहीबार १०:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको पक्षमा एक ढिक्का भएर उभिने निर्णय भएको छ ।
करिब २ हजार मतदाता रहेको मिडल्याण्डस्थित ७ वटा संघसँस्थाका अध्यक्ष तथा उम्मेदवारहरुको विहीवार साँझ सम्पन्न कन्फ्रेन्सकल बैठकले अगामी १४ सेप्टेम्वरमा हुने र्निवाचनमा पुनम गुरुङ समुहलाई एक ठिक्का भएर मतदान गर्ने निर्णय गरेको हो । एनआरएनए आइसीसी सदस्यका प्रत्यासी दयानिधी सापकोटाका अनुसार बैठकमा मिडल्याण्डबाट प्रतिनिधीत्व गर्ने उम्मेदवार, संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिती थियो । मिडल्याण्ड फुटाउने प्रयास स्वरुप बिभिन्न गतिविधी भएको देखिएको छ तर हामी सबै एक मत भएर चुनावमा जाने निर्णय गरेका छौं सापकोटाले वताए । उनले मिडल्यावासी नेपाली समुदायलाई गुरुङको पक्षमा मतदान गर्न समेत आग्रह गरे । बैठकमा मतदान केन्द्रको व्यवस्थापन, मतदान हुने दिनको लागि आवश्यक तयारीको विषयमा छलफल भएको थियो ।

यसअघि गत महिना मिडल्याण्डबाट सामुहिक उम्मेदवारी घोषणा गर्दै पुनम गुरुङको प्यानलबाटै चुनाव लड्ने गरी सहमति गरिएको छ ।

मिडल्याण्डस्थित साझा नेपाली समाज र शान्ति नेपाली समाज बेलायत समेतको समन्वयमा यो सहमति भएको थियो ।
मिडल्याण्ड क्षेत्रका आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे, गोविन्द खरेल ( सचिव इंल्याण्ड राज्यपरिषद) र सदस्यहरुमा गोमा पौडेल, नृपेश उप्रेती र कृष्ण खरेल छन् ।


तीजका चेलीवेटी पनि पुनमकै पक्षमा

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन नजिकिंदै गर्दा मिडल्याण्डमा चुनावी रौनक बढेको छ । चुनावी प्रचारप्रसारमा व्यस्त उम्मेदवारहरुले आफ्नो अभियानलाई मिडल्याण्ड केन्द्रित गरेका छन् ।

यसपटकको निर्वाचनमा निर्णायक शक्ति हुने ठानिएको कारण पनि मिडल्याण्डप्रति उम्मेदवारहरुको आकर्षण देखिन्छ ।

एनआरएन यूके अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङ सोमबार आफ्नो सिंगो टिमसहित मिडल्याण्ड पुगिन् । नटिंगहम नेपाली समाजले नटिंगहम र सिर्जनशिल लेस्टर नेपालले लेस्टरमा आयोजना गरेका छुट्टाछुट्टै तीज कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा सहभागी बनिन् ।
गत सोमबार अपरान्ह नटिंगहममा आयोजित कार्यक्रममा स्थानीय करिब २ सय ५० महिला सहभागी थिए । सो समाजका पूर्व अध्यक्ष समेत रहेका एनआरएन यूके सहकोषाध्यक्षका उम्मेदवार विष्णु चालिसेले स्थानीयहरुमाझ एनआरएन यूकेका उम्मेदवारहरुको परिचय गराए । उम्मेदवारहरुले स्थानीय दिदीबहिनीलाई तीजको शुभकामना दिने मात्र होइन, संगसंगै नाचगान गर्न समेत भ्याए ।

नटिंगहमको कार्यक्रम सकिएलगत्तै पुनम र उनको समर्थक उम्मेदवारहरुको जम्बो टोली लेस्टरतर्फ लाग्यो । जहाँ सिर्जनशिल नेपाली समाजले आयोजना गरेको तीज कार्यक्रममा करिब डेढ सय स्थानीय महिलाहरुको उपस्थिति थियो । लेस्टरमा एनआरएन यूकेका उपाध्यक्ष पशुपति पोखरेलले उम्मेदवारहरुलाई परिचय गराएका थिए ।

दुवै कार्यक्रममा सम्बोधन गर्ने क्रममा एनआरएन यूके अध्यक्ष उम्मेदवार गुरुङले बेलायतबासी सम्पुर्ण नेपाली महिलाहरुको प्रतिनिधिका रुपमा आफु अध्यक्ष पदको उम्मेदवार बनेको बताइन् ।

तपाईंहरुजस्तै म एक चेली आज एनआरएन यूके जस्तो महत्वपुर्ण संस्थाको नेतृत्व गर्न सक्छु भन्ने आँटसहित अघि बढ्ने कोशिस गर्दैछु , मलाई कहाँसम्म पुर्याउने भन्ने तपाईंहरुकै हातमा छु, पुनमले भनिन्, मलाई तपाईंहरुले साथ दिनुहोस्, निर्वाचनमा जिताएर जिम्मेवारी दिनुहोस् । म तपाईंहरु सबैको शिर उचो पार्ने गरी काम गरेर देखाउनेछु ।
यसअघि गतसाता बर्मिंगहममा शान्ति नेपाली समाज बेलायतले आयोजना गरेको तीज कार्यक्रममा पनि पुनम प्रमुख अतिथिका रुपमा सहभागी थिइन् । आफ्नो जम्बो टिमसहित बर्मिंगहम पुगेकी उनले एनआरएन यूकेको नेतृत्व गर्ने आफ्नो आकांक्षमा सघाउन बर्मिंगहमबासीसंग सहयोग मागेकी थिइन् ।

मिडल्याण्डमा एनआरएन चुनावी अभियानको संयोजन गरिरहेका साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले एनआरएन यूकेमा महिला अध्यक्षको इतिहास कायम गर्ने अभियानमा मिडल्याण्डबाट पूरा साथको वचन दिए ।

मिडल्याण्ड आफ्नो वचनमा पक्का र प्रतिबद्ध छ । हाम्रो यो एकता र ऐक्यबद्धतामा ढुक्क रहन हामी सबैलाई आग्रह गर्दछौं, अध्यक्ष अधिकारीले भने, मिडल्याण्ड आफ्नो मतमा जहिले पनि एक ढिक्का भएर उभिंदै आएको छ र यसपटक पनि उभिनेछ ।
एनआरएन यूकेको आसन्न निर्वाचनमा मिडल्याण्डका प्रतिनिधि उम्मेदवारहरुले अध्यक्ष उम्मेदवार पुनमसंगै चुनावी सहकार्य गरी निर्वाचनमा जाँदैछन् । मिडल्याण्डबाट आइसिसी सदस्यमा दयानिधि सापकोटा एवम् एनआरएन यूके उपाध्यक्षमा पशपति पोखरेल, सचिवमा कोशलेश्वर ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे तथा सदस्यहरुमा कृष्ण खरेल, नृपेश उप्रेती र गोमा पौडेल उम्मेदार छन् । त्यस्तै एनआरएन इंग्ल्याण्ड राज्य परिषदको सचिवमा गोविन्द खरेल उम्मेदवार छन् ।

चुनावी अभियानको शिलशिलाामा अध्यक्ष उम्मेदवार पुनमसंगै उपाध्यक्ष उम्मेदवारहरु सुनिल खड्का र रोजिना प्रधान, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई, सचिव उम्मेदवार जित रानाभाट र रञ्जिता मल्ल, कोषाध्यक्ष उम्मेदवार तिलक भट्टराई, महिला संयोजक उम्मेदवार प्रसुना कंडेल, सदस्य उम्मेदवारहरु प्रकाश कंडेल, वन्दना खत्री, तथा इंग्ल्याण्ड राज्य परिषदको अध्यक्ष उम्मेदवार दिपक श्रेष्ठ, आइसिसी सदस्य उम्मेदवारहरु राजन खकुरेल, अर्कराज तिम्सिना लगायतको टोली मिडल्याण्ड पुगेको थियो ।

यसै बीच संघको अध्यक्षका प्रत्यासी शेर सुनारको समुहले समेत मिडल्याण्डमा आयोजित तीज कार्यक्रममा पुगेर फोटो सेसन गरेर लण्डन फर्किएको छ ।