१३ बैशाख २०८१, बिहीबार
Follow Us

समृद्ध मुलुक निर्माणका लागि विश्वभरका नेपाली एकैसुत्रमा बाँधिनु पर्छ : कुमार पन्त

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७६, शुक्रबार १६:१७

गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले नेपालको आर्थिक समृद्धिका लागि विदेशस्थित गैरआवासीय नेपाली एकैसुत्रमा बाँधिनुको विकल्प नभएको बताउनुभएको छ । गैरआवासीय नेपालीको सञ्जाललाई विश्वव्यापी बनाई उनीहरुले नेपालको समृद्धि र आर्थिक विकासको निम्ति के योगदान गर्न सक्छन् भन्ने विषयमा संघको विशेष चासो रहेको उहाँको भनाई थियो ।

“अहिले दुई वटा कुरामा हाम्रो ध्यान केन्द्रित छ, गैरआवासीय नेपाली संघ पोर्चुगलको अधिबेशनका क्रममा त्यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, पहिलो हामीभित्र रहेका आन्तरिक समस्या एवं गैरआवासीय नेपालीका हकहितका कुरा र दोश्रो गैरआवासीय नेपालीको जुन सञ्जाल छ, जहाँ ८० लाख नेपाली छन् उनीहरुले नेपालको समृद्धिको निम्ति अथवा नेपालको आर्थिक विकासको निम्ति के योगदान गर्न गर्छन् भन्ने विषयमा बृहत अध्ययन गरी त्यसका लागि उचित वातावरण तयार गर्नु ।”

व्यक्तिगत रुपमा लगानी भित्रिरहेको वर्तमान अवस्थालाई संकेत गर्दै पन्तले भन्नुभयो, “अब भने त्यसलाई एकद्धार नीतिबाट सामूहिक रुपमा नेपालमा लैजाने विषयमा बृहत छलफल भइरहेको छ । हालसम्म व्यक्तिगत रुपमा मात्रै भएको लगानीलाई अब सामुहिक रुपमा लैजाने भनेर लागिरहेको छौँ, जसमा श्रमिकको सानो लगानी समेत समेटिनेछ ।” सामुहिक रुपमा गरेको लगानीले नेपालको समृद्धिमा ठूलो प्रभाव पार्ने उहाँको भनाई थियो ।

सन् २०१२ मा टेष्ट प्रोजेक्टका रुपमा एक हजार गैरआवासीय नेपाली सम्मिलित नेपालको हाइड्रोपावर क्षेत्रमा गैरआवासीय नेपालीको लगानी अन्तर्गत सुरु भएको लमजुङको दोर्दी खोला हाइड्रोपावर निर्माण सम्पन्न हुने चरणमा रहेको विषयलाई स्मरण गराउँदै पन्तले सामुहिक लगानीले नेपालको आर्थिक विकासका लागि ठूलो योगदान गर्न सकिने स्पष्ट पार्नुभयो । नेपाल सरकारसँग सामुहिक लगानीको लागि सहमति भइसकेको बताउँदै उहाँले सो सामूहिक कोषमार्फत नेपालको समृद्धि र विकासमा बराबरको हिस्सेदार बन्न सबैलाई आह्वान गर्नुभयो ।

नेपालमा पूँजी मात्रै नभई ज्ञान सीप र प्रवृद्धि भित्र्याउन संघले नेपाल सरकारसँग सहकार्य गर्ने र त्यसको थालनी गत वर्षको अक्टोबरबाटै भइसकेको पन्तको भनाई थियो ।

पन्तले भन्नुभयो, “हामीले धनको लगानीलाई मात्रै जोड दियौँ, तर विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि नेपालमा लैजाने कुरामा भने पछि पर्र्यौ । सोही कुरालाई महसुस गरेर गत अक्टोबरमा हामीले विज्ञ सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यौ ।” गैरआवासीय संघ धनीहरुको मात्रै संस्था हो भन्ने भ्रमलाई विज्ञ सम्मेलनले गलत साबित गरेको उहाँको भनाई थियो । “यूरोपदेखि अमेरिका, अष्टेलियासम्मका नेपाली विज्ञहरुले ठूलो चासो दिएर विज्ञ सम्मेलनमा सहभागिता जनाउनुभयो, उहाँले भन्नुभयो, “हामीले विज्ञ सम्मेलनमा विज्ञ एवं सरोकारवालाबाट प्राप्त सुझाव समेटेर तयार पारेको श्वेत पत्र सरकारलाई बुझाएका छौँ, जसलाई सरकारले सकारात्मक रुपमा लिएको छ, हामी विश्वस्त छौँ, त्यसबाट नेपालमा ज्ञान, सीप र प्रविधि भित्र्याउन हामी सफल हुनेछौँ ।”

फरक प्रसंगमा बोल्दै पन्तले गैरआवासीय नेपाली नागरिकताको विषयमा नेपाल सरकारसँग निरन्तर संम्वाद भइरहेको जानकारी गराउनुभयो । नागरिकता प्राप्त गर्ने कुरामा अब हामीलाई कसैले रोक्न सक्दैन, पन्तले त्यहाँस्थित गैरआवासीय नेपालीलाई आश्वस्त पार्दै भन्नुभयो, “नागरिकताको विषयमा केही नीतिगत कुरामा छलफल जारी छ, अरु सबै विषयमा लगभग नेपाल सरकार सकारात्मक नै छ ।” “त्यसैले पनि नागरिकताको कुरामा ढुक्क हुन म तपाईहरुलाई विशेष आग्रह गर्छु ।” पन्तले थप्नुभयो, “कमसेकम अब हामी र हामीपछिका पुस्तालाई गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कुनै बाधा अड्चन आउनेछैन ।”
यसैबीच उपाध्यक्ष एवं आगामीं अध्यक्षका प्रत्यासी पन्तले पोर्चुगलमा रहेका गैरआवासीय नेपालीले भोग्नुपरेका समस्यामा संघको विशेष ध्यानाकर्षण भएको बताउनुभयो । संघले स्थापना गरेको वैदेशिक रोजगार राहत कोषमार्फत समस्यामा परेका त्यस्ता नेपालीको उद्धार गर्न सकिने उहाँको भनाई थियो ।

“कोषमा २३ करोड जम्मा भइसकेको छ, उहाँले भन्नुभयो, “त्यो राहत कोषबाट पोर्चुगलमा समस्यामा परेका नेपालीहरु पनि लाभान्वित हुनुपर्छ भन्नेमा हाम्रो विशेष चासो रहेको छ ।”
गैरआवासीय नेपालीहरुलाई सदस्यता लिएर त्यसबाट प्राप्त गर्न सकिने सुविधा उपभोग गर्न समेत पन्तले सुझाउनुभयो । यसैगरी, पूर्व अध्यक्ष शेष घलेकै पालोमा ल्याइएको ‘भिजन २०२० वियोन्ड’लाई आधार मानेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै पन्तले संस्थामा महिला, युवा र दोश्रो पुस्ताको सहभागिता बढाउने विषयमा सबैले आ आफ्नो स्थानबाट सहयोग र सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

विभिन्न मुलुकमा रहेका नेपालीको सहयोगमा संघको आफ्नै भवन बनेको, गोरखामा नमुना बस्ती सम्पन्न हुने चरणमा रहेको र शंखमूल पार्क लगायतका संरचना निर्माण सम्पन्न भएको भन्दै त्यसका लागि सहयोग गर्ने सम्पूर्णलाई पन्तले धन्यवाद ज्ञापन गर्नुभयो । यसका साथै आगामी दिनमा पनि समृद्ध र आर्थिक, सामाजिक, बौद्धिक र समग्र रुपमा समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सबै गैरआवासीय नेपालीको साथ अपरिहार्य रहेको र त्यसको नेतृत्व सम्हाल्न आफू तयार रहेको पन्तको भनाई थियो ।