८ बैशाख २०८१, शनिबार
Follow Us

महिला सशक्तीकरणमा विश्वमै अनुकरणीय नेपालः जापानी सांसद

sarusaru
१४ भाद्र २०७६, शनिबार ०३:१५

काठमाडौं । नेपाल भ्रमणमा रहेका जापानको महिला संसदीय प्रतिनिधिमण्डलले महिला सशक्तीकरणका निम्ति नेपाल विश्वमै अनुकरणीय देश भएको बताएको छ।

जापानी संसद्की प्रभावशाली सदस्य इनादा तोमोमी नेतृत्वको महिला सांसदको टोलीले मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग भएका भेटमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा नेपाली नारीले विविध चुनौती झेल्नु परेको भए पनि राजनीतिक सशक्तीकरणको प्रशंसा गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग आज बेग्लाबेग्लै भएका भेटमा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्यो।

बाह्र वर्षपछि नेपाल र जापानबीच यसै साता पुनः प्रारम्भ भएको सिधा हवाई सेवाको मुक्तकण्ठले प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले द्विदेशीय पर्यटन प्रवद्र्धनमा त्यसले टेवा पुग्ने विश्वास व्यक्त गर्यो।

मन्त्री ज्ञवालीले जापानी लगानीकर्तालाई नेपालमा पूँजी परिचालनका निम्ति प्रेरित गर्न आग्रह गर्दै कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा गरिने लगानीले पर्याप्त प्रतिफल दिने भएकाले अवसरको उपयोग गर्न आह्वान गरे।

दिगो विकासका लक्ष्य हासिल गर्ने तथा नेपाललाई मध्यम आययुक्त देशका रुपमा विकास गर्ने वर्तमान सरकारको लक्ष्य सुनाउँदै उनले जापानजस्तो भरपर्दो विकासको साझेदारबाट थप सहयोगको अपेक्षा गरिएको बताए।

जापानले कठिन अवस्थामा पनि नेपाललाई सहयोग गर्दै आएको तथा यहाँका भौतिक पूर्वाधार निर्माणका साथै सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर मद्दत गरेकामा आभार व्यक्त गरे।

बुद्ध दर्शनका मूल्यमान्यतालाई नेपाल–जापान सम्बन्धका आधारका रुपमा चित्रित गर्दै मन्त्री ज्ञवालीले दुई देशबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई भिक्षु एकाइ कावागुचीले १२० वर्षअघि नै जनस्तरमा घनीभूत बनाएको बताए।

जापानी प्रतिनिधिमण्डलले आजै पाटन दरबार क्षेत्रमा जारी भूकम्पपछिको पुनःनिर्माण तथा थापाथलीस्थित इन्द्रराज्यलक्ष्मी प्रसूतिगृहको अवलोकन गरी त्यसको वस्तुस्थितिबारे जानकारी लिएको थियो।

रासस