७ बैशाख २०८१, शुक्रबार
Follow Us

गाईगोरु डाँडो कटाउन खोज्दा…

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार ०३:१८

सुर्खेत- नेपालगन्ज उपमहानगरपालिकाले करिब एक महिनाअघि सर्वपक्षीय बैठक गरी संरक्षण गर्ने उद्देश्यले कुनै व्यक्ति वा संस्थाले माग गरे कान्जी हाउसमा रहेका गाईगोरु नि:शुल्क दिने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले नै बिहीबार निर्णयको मर्मविपरीत गाईगोरुलाई डाँडो कटाउन खोज्दा समस्या देखिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयको सहयोगमा उपमहानगरपालिकाले बिहीबार राति २ सय ७० गाईगोरु दैलेखको श्रीस्थानका लागि पठाएको थियो । यद्यपि यति ठूलो परिमाणमा गाईगोरु कसले मागेका थिए भन्ने रहस्यमै छ । उपमहानगरपालिकाले आफ्नै व्यवस्थापनमा ८ वटा ट्रकमा गाईगोरु पठाएको थियो । नगर प्रहरी इन्चार्ज टोली सुर्खेतसम्मै छोड्न आएको थियो । पठाइएकामध्ये २४ गाईगोरु मरेपछि उपमहानगरपालिकालाई कानुनी रुपमा गलपासो भएका छन् । ‘अहिलेसम्म ती गाईगोरु कसले मागेका हुन् भन्ने खुलेको छैन, सम्बन्धित निकायले समेत अनभिज्ञता जनाएका छन्,’ नेपालगन्ज उपमहानगरपालिकामा नेकपाका तर्फबाट सर्वदलीय प्रतिनिधि तोकिएका नगर कमिटी सचिव दत्तप्रसाद आचार्य भन्छन्, ‘छाडा चौपायाबाट नेपालगन्जलाई मुक्त बनाउन जसरी पनि गाईगोरुलाई डाँडो कटाउने भन्ने नियत लुकेको देखिन्छ ।’ सर्वदलीय सहमतिविपरीत गैरकानुनी रुपमा गाईगोरु ओसापोसार गर्न खोज्दा यस्तो अवस्था निम्तिएको उनले बताए ।

श्रीस्थान क्षेत्रका सरोकारवालाले पनि अनभिज्ञता जनाएका छन् । शनिबार श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवराज थापा र मन्दिरका महन्त गोकर्णनाथ योगीले संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘राष्ट्रकै गौरवमय इतिहास बोकेको श्रीस्थान ज्वालाक्षेत्र र सिंगो पञ्चकोशी क्षेत्रलाई बदनाम हुने गरी भएको यो घटनाको घोर भर्त्सना गर्दछौं, यसबारे मन्दिर व्यवस्थापन समिति र भैरवी गाउँपालिका (श्रीस्थान रहेको क्षेत्र) लाई कुनै जानकारी छैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।