१३ बैशाख २०८१, बिहीबार
Follow Us

लोकन्थलीमा फेरि गयो पहिरो

sarusaru
१५ भाद्र २०७६, आईतवार १३:३२

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ को लोकन्थली हाइटस्थित गोरखनाथ मार्गमा शुक्रबार राति फेरि पहिरो गएको छ।

शुक्रबार रातिको वर्षाले गएको भाद्र ३ गते सुख्खा पहिरो गएकोभन्दा पश्चिमतर्फ फेरि पहिरो गएको हो। उक्त पहिरो गएसँगै दुई घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिए।

‘भाद्र ३ गते गएको पहिरोले चर्काएको पश्चिमतर्फको भागमा शुक्रबार राति पहिरो गएको हो’, उनले भने, ‘थप पहिरो जान नदिन त्रिपालले छोपेका छौं।’

उनले पहिल्यै चर्काएकाले त्यसलाई भास्न खोज्दा भूगर्भ विभागले रोकेको वडा अध्यक्ष खड्काले स्पष्टीकरण दिए। उनका अनुसार भाद्र ३ गते पहिरो गएको पूर्वतर्फको बाटोसमेत कुनै बेला भासिने सम्भावना छ। जसले गर्दा उक्त क्षेत्रमा पनि त्रिपालले छोपेर वर्षाको पानी पस्न नदिइएको उनको भनाइ थियो।

‘भाद्र ३ गतेको पहिरोले पूर्व र पश्चिम दुवैतिर सडकको भाग चर्काएको थियो। त्यसलाई भासेर तलैदेखि टेवा पर्खाल लगाउनुपर्छ भन्दा भूगर्भले भत्काउन रोक लगायो’, वडा अध्यक्ष खड्काले भने, ‘भूगर्भले त्यत्तिकै भत्काउँदा बाटो छेउ रहेका घरहरुलाई असर गर्छ भनेपछि त्यत्तिकै छोडेको थियो तर शुक्रबारको वर्षाले लग्यो। शुक्रबार र शनिबारको जस्तो भारी वर्षा भए पूर्वतिर पनि पुनः पहिरो जाने सम्भावना छ।’

भाद्र ३ गते गएको सुख्खा पहिरोले लोकन्थली हाइट पुग्ने गोरखनाथ मार्गको १६ फिट चौडा करिब ४२ मिटर सडक खण्ड बगाएको थियो। पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको थियो। करिब ३० फिट भिरालो जग्गा बाटोसहित पहिरो जाँदा ती घरका जगसमेत देखिएका थिए।

यी घरभन्दा करिब दुईफिटमात्रै सडक बाँकी हुने गरी पहिरो गएपछि नगरपालिकाले तलैदेखि टेवा पर्खाल लगाएको थियो। उक्त पर्खाल पुरै माथिसम्म आउन नपाउँदै शुक्रबार राती पुनः उक्त सडकको पश्चिमतिर पहिरो गएको हो।

लोकन्थलीमा खानेपानी समस्या समाधान गर्न ट्यांकी निर्माण गर्न खन्ने क्रममा पहिरो गएको थियो। सडकमुनि भाद्र १ गते डोजर लगाइएको थियो। डोजर लगाएको भोलिपल्टै सडक भासिएपछि डोजर लगाउन रोकिएको थियो। तर तेस्रो दिन सुख्खा पहिरो गएको हो।

अन्नपूर्ण पोष्ट