४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन यूके सचिवका उम्मेदवार रानाभाट चुनाव जित्नेमा उत्साहित

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७६, बुधबार १६:१९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा सचिव पदका उम्मेदवार जित रानाभाट यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

बौद्धिक व्यक्तित्व, उच्च शैक्षिक योग्यता र सामाजिक कार्यहरुको लामो अनुभवले खारिएका रानाभाटलाई एनआरएनमा एक लामो रेसको घोडाका रुपमा लिइएको छ ।

चुनावी अभियानका क्रममा एनआरएन यूकेका सदस्यहरुमाझ पुगिरहेका रानाभाट प्राप्त प्रतिक्रिया र हौसलाबाट उत्साहित बनेका छन् । एनआरएनएप्रति हाम्रो समुदायले जसरी चासो र सरोकार राखेको छ, त्यो साँच्चीकै उत्साहजनक रहेको मैले पाएको छुु, रानाभाट भन्छन्, ‘जसकारण सबैको भावनाको सम्बोधन हुने गरी संस्थालाई अघि बढाउंदै जान र यो प्लेटफर्मलाई समुदायको हित हुने गरी सदुपयोग गर्न हामीलाई थप उर्जा प्राप्त भएको छ ।

एनआरएन यूकेको सचिवका रुपमा संस्थामा थप सदस्यहरुलाई आकर्षित गर्ने, विदेशमा बस्ने नेपालीको ज्ञान, सीप, अनुभवलाई नेपालको हितमा सदुपयोग गराउने लगायतका कार्यमा संयोजनकारी भुमिका खेल्ने लक्ष्य रानाभाटको छ ।

एनआरएनए स्थापनाको उद्देश्य र मातृभुमिप्रतिको प्रेम र उत्तरदायित्व साथै बसेको देशमा गर्नुपर्ने सामाजिक अन्तरघुलन र अन्तरमिलनका लागि हरेक एनआरएनए राष्ट्रिय समन्वय समितिले सोहि अनुसारको योजना ल्याई कार्यान्वयनमा ल्याउनुपर्ने भन्दै त्यसका लागि आफ्नो तर्फबाट ईमान्दार पहलकदमी गर्ने उनको सोंच छ ।

त्रिभुवनविश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर्स र एमफिल पूरा गरेका रानाभाट हाईली स्किल्ड म्यानपावरका रुपमा एक दशकअघि बेलायत आएका हुन् । बेलायतमा एक सफल निर्माण व्यवसायीका रुपमा स्थापित उनले यहाँस्थित थुप्रै सामाजिक संघसंस्थाका महत्वपुर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । रोयल ग्रीनविच नेपाली सोसाइटीका वर्तमान उपाध्यक्ष रानाभाटले यस अघी सो संस्थाको महासचिवका रुपमा काम गरिसकेका छन् ।

नेपाली हाइली स्किल्ड प्रोफेसनल सोसाइटी यूकेको कोषाध्यक्षका रुपमा भुमिका निभाएका उनी पशुपतिनाथ मन्दिर, लण्डन र क्षेत्री समाज यूकेमा पनि कार्यसमिति सदस्यको रुपमा काम गरिसकेका छन् ।

एनआरएन यूकेको वर्तमान कार्यसमितिमा विद्यार्थी समन्वय विभागको संयोजकका रुपमा समेत रानाभाटले काम गरेका थिए ।