१२ बैशाख २०८१, बुधबार
Follow Us

सिन्धुपाल्चोकमा गोली चल्यो, दुई घाइते

sarusaru
१९ भाद्र २०७६, बिहीबार १३:०६

सिन्धुपाल्चोक : बिहीबार दिउँसो सिन्धुपाल्चोकमा गोली चलेको छ। मेलम्ची खानेपानी आयोजनाको निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरको आन्दोलन उग्र बनेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको हो।

प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। प्रहरीले निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरले आन्दोलनका क्रममा ढुंगामुढा सुरु गरेपछि गोली चलाउनु परेको दाबी गरेको छ।

सिन्धुपाल्चोकको अम्बाथानमा बिहीबार दिउँसो साढे ३ बजे सशस्त्र प्रहरीले गोली चलाएको हो। इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको हो। गोली चलाउनुअघि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

सशस्त्रको गोलीबाट दुईजना घाइते भएको मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीले आन्दोलन उग्र बनेपछि गोली चलाएको दाबी गरे पनि आन्दोलनकारीले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भएको बताएका छन्।

मेलम्ची आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्री नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेका थिए। पीडित समूहले आफ्नो पारिश्रमिक र क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

अन्नपूर्ण पोष्ट