६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा जिप दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार १४:३०

लण्डन । अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीमा दुईवटा जिप ठोक्किएर भएकाे दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । मिजोरी राज्यको जोप्लिन प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो भएको दुर्घटनामा मिजोरी राज्यको ब्ल्य स्पिरिङमा बस्दै आएका शारदा ओझा खनालसहित उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनालको निधन भएको हो ।

शारदाका श्रीमान् प्रभाश ओझाले चलाएको टोयटा राभ ४ जिप, प्रिगमोर एभिन्यु नजिकैको इन्टरस्टेट ४४ को तेस्रो लेनमा अर्को टोयटा पिकअपसँग ठोक्किएर दुर्घटना भएको भएको स्थानीय समाचार माध्यम जोप्लिन ग्लोबले उल्लेख गरेको छ ।

दुर्घटना, मंगलबार दिउँसो दुई बजेर ५५ मिनेटमा भएको थियो । राजमार्गमा पूर्वतर्फ गइरहेको उक्त टोयटा जिप र सोही दिशातिर गइरहेको टोयटा पिकअप ठोक्किएका थिए । अघिल्लो सिटमा बसेकी शारदा र पछाडिको सिटमा बसेकी उनकी आमालाई घाइते अवस्था अस्पताल लगिए पनि, त्यहाँ उनीहरुलाई मृत घोषणा गरिएको थियो । गोविन्द खनालको भने घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।

पेशाले सफ्टवेयर इन्जिनियर रहेका चालक ओझा र उनका चार वर्षीय छोरा घाइते भएको र हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नाबालक छोराको स्थिति भने गम्भीर रहेको बताइएको छ । ओझा परिवारको नेपालमा विराटनगर घर रहेको बुझिएको छ ।