१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री बोरिस जोन्सनको मध्यावधि चुनाव गराउने प्रस्ताव अस्वीकृत


१९ भाद्र २०७६, बिहीबार २३:०९

लन्डन — बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार संसदमा एकै दिन दुई पटक हार बेहोर्नुपरेको छ । प्रधानमन्त्री जोन्सनले आउँदो अक्टोबर १५ तारिख मध्यावधि चुनाव गराउन राखेको प्रस्ताव र बिना सम्झौता ब्रेक्जिट योजना संसदले अस्वीकृत गरिदिएको हो ।

५ वर्ष अगावै चुनाव गराउनु परेमा सरकारले राखेको प्रस्तावमा दुई तिहाई बहुमत जुटाउनु पर्ने हुन्छ । तर प्रमुख विपक्षी लेबर पार्टीले उक्त प्रस्तावको विरोध गरेको थियो ।

प्रस्तावको पक्षमा २९८ सांसदहरुले मत दिए भने ५६ सांसदहरु विपक्षमा उभिए । प्रमुख विपक्षी दलका सांसदहरुले मतदानमा भाग लिएनन् । प्रधानमन्त्रीलाई दुई तिहाइ बहुमत जुटाउन ४३४ मत आवश्यक थियो ।

यसअघि सांसदहरुले बिना कुनै सम्झौता बेलायतले युरोपेली संघ छाड्न नहुने (नो डिल) ब्रेक्जिटको विपक्षमा मतदान गरेका थिए । यसरी प्रधानमन्त्री जोन्सनले राखेका दुवै प्रस्ताव संसदले एकै दिन अस्वीकार गरिदिएको छ ।

बेलायती प्रधानमन्त्रीको बिना सम्झौता युरोपेली संघ छाड्ने योजना अब विफल भएको छ । जोन्सनको ३१ अक्टोबर २०१९ मा बिना कुनै सम्झौता (नो डिल) युरोपेली संघ छाड्ने योजना विफल भएको हो । सांसदहरुले नो डिल ब्रेक्जिट रोक्ने गरि एउटा विधेयक (बील) पारित गरेका छन् ।

विपक्षी सांसद र सत्तारुढ टोरीकै विद्रोही सांसदहरुले नो डिल ब्रेक्जिटको विपक्षमा मतदान गरेका हुन् । बुधबार भएको मतदानमा ३२७ सांसदले नो डिल ब्रेक्जिटको विपक्ष र २९९ सांसदले पक्षमा मतदान गरेका बीबीसीले उल्लेख गरेको छ । यो विधेयक पारित भएसंगै प्रधानमन्त्री जोन्सनलाई ईयूसँग सम्झौता हुन नसके बहिगर्मन समय थपका लागि माग गर्न बाध्य बनाउनेछ ।

यस अघि मंगलबार भएको मतदानमा कुनै सहमति नभए पनि इयु छाड्ने प्रधानमन्त्री जोन्सनको योजनालाई संसदले ब्रेक लगाई दिएको थियो । जोन्सन प्रधानमन्त्री भएपछि संसदमा भएको पहिलो मतदानमा पराजित भएका थिए । हाउस अफ कमन्समा मंगलबार राती भएको मतदानमा ३२८ जना सांसदले ३१ अक्टोबर २०१९ मा बिना कुनै सम्झौता युरोपेली संघ छाड्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने ३०१ जनाले पक्षमा मतदान गरे ।

मतदानको परिणामबाट सांसदहरूले ब्रेक्जिटको मिति पर सार्न अनुरोध गर्न पाउने भएका छन् । ब्रेक्जिट मुद्दाले बेलायतको राजनीतिमा ध्रुवीकरण भएको छ । यसले ब्रेक्जिटको अनिश्चतता पनि बढाएको छ । निवर्तमान प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट पार लगाउन नसकेकै कारण पदबाट राजिनामा दिनु परेको थियो । मेको बहिगर्मनपछि जोन्सन गत महिना प्रधानमन्त्री निर्वाचित भएका थिए ।