१५ चैत्र २०८०, बिहीबार
Follow Us

हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो– अध्यक्ष थापा


२० भाद्र २०७६, शुक्रबार १८:३३

वुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको भन्दै देशका लागि अबको विकल्प राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा वुटवलमा आयोजित केन्द्रीय परिषद बैठकको समुदघाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउछौं भन्ने र धर्म संस्कृतिलाई नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दावी गर्नुभयो ।

अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले विगत १२ बर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको र हालकै बाटोलाई निरन्तरता दिने हो भने देश असफल राष्ट्रको रुपमा पुग्ने ठोकुवा समेत गर्नुभयो ।
थापाले युवाहरुको रगत र पसिना निर्यात गरेर र नेपाली युवाहरुलाई मलेसिया तथा अरबको मरुभूमिमा पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने समेत बताउनुभयो ।
सम्बोधनकै क्रममा थापाले देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको सुन काण्ड, वाईड वडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षको समेत संलग्नता र सहमतिमा भएको आरोप लगाउनुभयो ।

सरकार अहिले आफ्नो असफलतालाई ढाक्नका विरोधी आवाजलाई निषेध गर्ने, आवाजलाई दवाउने जस्ता चेतावनीपूर्ण अभिव्यक्ति दिदै हिडेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयो ।
गणतन्त्र ल्याउन विदेशी खुफिया एजेन्सीले देशको प्रधानमन्त्री भइसकेको र सत्तारूढ पार्टीको अध्यक्ष रहेका व्यक्तिलाई प्रयोग गरिएको भन्ने पुस्तक मार्फत सार्वजनिक हुनु नेपालीको शीर निहुरिने विषय भएको बताउँदै अध्यक्ष थापाले यो संवेदनशील विषय भएकाले संसदीय छानबिनको माग समेत गर्नुभएको छ ।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई कठिन घडीमा पनि बोकेर हिडेको हुँदा एजेन्डाको विषयमा राप्रपालाई शंका नगर्न र आफूहरूको नियतमाथि शंका गरिदा पीडाको अनुभूति हुने उहाँले बताउनुभयो । साथै थापाले युवा संगठनको परिषद बैठकको सफलताको शुभकामना दिदैँ सबै युवाहरुलाई राप्रपामा एकबद्व भई राष्ट्रिय स्वाधिनताको सवलीकरण गर्ने कार्यक्रम तय गर्न आग्रह समेत गर्नुभएको थियो ।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सनातन मान्यताको रक्षा गर्दै विकास र आर्थिक समृद्धिका लागि राप्रपासँग स्पष्ट दृष्टिकोण भएको र राप्रपामा समाहित भएर नेतृत्व लिन र देशलाई संकटको दलदलबाट मुक्त तुल्याउन उहाँले युवाहरुलाई आव्हान समेत गगर्नुभयो ।

समुद्घाटन समारोहमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष प्रेम बहादुरी भण्डारी, राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका सहमहामन्त्री राजेन्द्र वीर राय, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, सचिब हिक्मत जंग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, प्रवक्ता सुजित के.सी. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको परिषद बैठकमा ६५ जिल्लाका १४५ जना युवाहरुको उपस्थिति रहेकोे युवा संगठनका प्रवक्ता सुजित के.सीले बताउनुभयो । युवा संगठनको परिषद बैठक भाद्र २१ गतेसम्म जारी रहने बताईएको छ ।