१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेको निर्वाचनमा भिजन सहित आए कोशलेश्वर ढकाल (कृष्ण)


२० भाद्र २०७६, शुक्रबार २०:३२

लण्डन । गैरआवासीय नेपाली (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि सय भन्दा बढी उम्मेदवार मैदानमा छन् । प्रायः उम्मेदवारहरु मतदाताको मन जित्न घरघर पुगेका छन् । यस्तै उम्मेदवारहरुको बीचमा छुट्टै पहिचान सहित चुनावी मैदानमा आएका छन् कोशलेश्वर ढकाल (कृष्ण) । ढकालले संघको सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने ढकालले करिब २ हजार सदस्यता बनाउन संयोजनको भूमिका निर्वाह गरेका थिए । आफ्रनै नेतृत्वमा बनेका सदस्यहरुको चिन्ता छ उनलाई । त्यसैले सचिवमा पदमा चुनाव जिते सदस्यहरुको लागि सहुलियत कार्डको व्यवस्था गर्ने योजना बनाएका छन् ।

उनले संघले अहिले व्यवस्था गर्न लागेको परिचयपत्रलाई अझ बैज्ञानिक बनाएर कल्व कार्डको रुपमा विस्तार गर्ने सकिने वताए । कल्व कार्ड जस्तो बनाए पछि त्यस्तो परिचयपत्रले वेलायतस्थित नेपाली रेष्टुरेन्ट तथा पसलहरुमा सहुलियत स्वरुप सदस्यहरुलाई डिस्काउण्टको व्यवस्था गर्न सकिने उनको तर्क छ ।

एनआरएन युकेको कार्यालय खोज्दै पटकपटक अल्डरशट धाउन नपरोस् भनेर ढकालले एनआरएनए भवनको परिकल्पना समेत गरेका छन् । उनले लण्डन देखी करिब १ घण्टाको दुरीमा सबैलाई पायक पर्ने स्थान खोजेर जग्गा किनेर एनआरएन भवन बनाउन सकिने तर्क गर्छन् । उनले भने ‘अब एनआरएन भवन बनाउनुको अर्को विकल्प छैन् त्यसैले सबै मिलेर पायक पर्ने गाउँमा भवन निर्माण गर्ने तिर लाग्नु पर्छ’ ।

शान्ति नेपाली समाज बेलायतको पूर्व अध्यक्ष उनी यहाँको नेपाली समुदायमा एकजना क्रियाशिल र सक्रिय समाजसेवीका रुपमा स्थापित छन । उनले नेपालमा विभिन्न परोपकारी काम समेत गरेका छन् । उनले प्रत्येक सदस्यबाट एक एक पाउण्ड मासिक डाइरेक्ट डेविड राखेर आर्थिक संकलन गर्न सकिने वताए ।

ढकालले सिंगो बेलायतको समुदायको हितलाई सम्झेर काम गर्ने बताए । ११ वर्ष अघि वेलायत आएका ढकाल रेष्टुरेन्ट तथा पेट्रोलपम्प व्यवसायी हुन् ।