१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको अधिवेशन सम्पन्न, छायाँ अध्यक्ष सहितको विधान अस्वीकृत

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७६, आईतवार ०९:५७

“भिजन २०२० एण्ड वियोन्ड”को एजेन्डा नै मेरो चुनावी एजेन्डा हो: कुमार पन्त

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी कार्यकालको अध्यक्षका प्रत्यासी कुमार पन्तले निवर्तमान अध्यक्ष शेष घलेले अघि सारेको भिजन २०२० एण्ड वियोन्डको एजेण्डा नै अबको मुख्य कार्ययोजना भएको बताउनुभएको छ । एनआरएनए युकेको नवौं अधिवेशनलाई सम्बोधन गर्दै पन्तले भिजन २०२० को कार्यान्वयन नै आफ्नो मुख्य कार्ययोजना भएको बताउनुभएको हो ।

“धेरै साथीहरुको प्रश्न छ, अबको तपाइको मुख्य कार्ययोजना र मुद्दा के होरु पन्तले भन्नुभयो, “ मैले भन्ने गरेको छु, मेरो अथवा कुनैपनि अर्को साथीको मुद्दा भन्ने कुरै छैन, अब एउटा मुद्दा छ हामीले बोक्नुपर्ने, त्यो हो निवर्तमान हुँदै गर्दा शेष घले ज्यूले अघि सार्नुभएको भिजन २०२० एण्ड वियोण्डको जसलाई कार्यन्वयन गर्नु हो अबको हाम्रो कार्ययोजना हो । जसमा सबै कुरा समेटिएका छन् ।”

गैरआवासीय नेपाली संघको प्राथमिकतामा रहेको सम्पूर्ण विषय भिजन २०२० एण्ड वियोन्डकै एजेन्डा भएको उल्लेख गर्दै पन्तले भन्नुभयो, “हामीले लगानीको कुरा, च्यारिटीको कुरा गछौँ, नागरिकताको कुरा गछौँ, श्रमिकको हक हितको कुरा कल्याण कोषको कुरा, महिला र युवा सबैको कुरा त्यसैसँग जोडिएको छ ।”

स्थानअनुसार फरक–फरक रुची र एजेण्डा भएपनि ती सबैलाई भिजन २०२० ले नै सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै पन्तले व्यक्ति विशेषको भन्दा पनि समग्र संघले नै अनुमोदन गरेको मुद्दालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

ज्ञान सीप र प्रविधिलाई कसरी नेपालमा लैजाने भन्ने विषय समेत भिजन २०२० मै लिपिबद्ध भएको उहाँको स्मरण गराउनुभयो । गत अक्टोबरमा काठमाडौंमा सम्पन्न विज्ञ सम्मेलनको सुझाव समेटेर श्वेत पत्र तयार गरी सरकारलाई पेश गरिसकेको र त्यसमा रहेको सम्भावनाका आधारमा समिक्षा भइरहेको पन्तले बताउनुभयो ।

फरक प्रसंगमा पन्तले सदस्यता शुल्क परिमार्जन गरी संस्थाको आर्थिक पक्षलाई मजबुत बनाउन सकिनेमा जोड दिनुभयो । संसारभर रहेको नेपालीलाई गैरआवासीय नेपाली अभियानको एकसुक्रमा बाँध्न समेत आवश्यक रहेको र त्यसका लागि व्यत्ति व्यक्ति सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

यसैबीच गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघका हरेक कामलाई प्रभावकारी बनाएर लैजानु आवश्यक भएको बताउनुभयो । आगामी कार्ययोजनाको फेहरिष्त बनाई त्यसमा बृहत छलफल गरी एक आपसमा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अधिवेशनमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएन उपाध्यक्ष कुल आचार्य, सल्लाहकार डा हेमराज शर्मा, युरोप संयोजक शिवकुमार बरुवाल, केन्द्रीय सदस्य रामशरण सिंखडा, पूर्व आइसीसी सदस्य जमुना घले, एनआरएन पूर्वप्रवक्ता मन केसी, एनआरएनए संरक्षकहरु डमर घले, सूर्य गुरुगं, योगेन क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
साधारणसभाले आर्थिक, वार्षिक पारित गरेको छ भने छायाँ अध्यक्ष सहित प्रस्तावित विधानलाई अस्वीकृत गरेको छ । यसैबीच राष्ट्रिय समन्वय परिषद यूकेको निर्वाचन भने आगामी सेप्टेम्बर १४ मा हुनेछ ।

नयाँ नेतृत्वका लागि पुनम गुरुङ र शेरबहादुर सुनारको टीम प्रतिस्पर्धामा रहेको छ । युकेमा १३ हजार ५ सय ६२ सदस्य रहेका छन् ।