February 27, 2020

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराई नाप्दा !

  9th September 2019 मा प्रकाशित

भगवान गिरी । जबसम्म अमेरिका पत्ता लागेको थिएन विश्व कै अन्तिम बिन्दु मानिथ्यो पोर्चुगलको कावा दि रोकालाई । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम बिन्दुमा चिनिन्छ । हो यही अन्तिम बिन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट सगरमाथाको गहिराई नाप्ने काम भएको छ ।

सामान्यतय सर्वोच्च शिखर सगरमाथाको उचाई नापिन्छ, तर कवि मन हो नापियो गहिराई ! वर्तमानमा आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता बाचन गर्न सक्ने सेलेब्रेटी र प्रतिभाशाली युवा कवि नवराज पराजुली सेप्टेम्बर ८ तारिख आइतबार लिस्बनमा गुन्जिंदा वाहीवाही मात्र पाएनन् सबैलाई मन्त्रमुग्ध र कविता कन्सर्ट ध्यान केन्द्र हो कि जस्तो बनाए ।

“कविता कन्सर्ट” को युरोप यात्रामा रहेका कवि पराजुलीले पोर्चुगलमा आफ्नो प्रस्तुतिको लोकप्रियतालाई फेरि प्रमाणित गरेका छन् ।


लगातार पचपन्न मिनेट लामो कविता पस्किएका पराजुलीको अन्तिम कविता “ह्यपी वर्थ डे” ले श्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैंले पनि गला अवरुद्ध हुँदै कविता वाचन गरे । “बामपन्थी लभ” “रुख” र “च्याउ” कविताहरुले पनि प्रसस्त ताली पाएको थियोे ।

पोर्चुगलमा यस्तो खालको कविता कन्सर्ट पहिलो भएकोले श्रोता र सहभागिता उल्लेख्य रहेको र आफूहरु उत्साहित रहेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताए ।

कार्यक्रमका प्रमुख आकर्षक कन्सर्ट कवि नवराज पराजुलीको छोटो प्रतिक्रिया थियोे “संसारकै उत्कृष्ट फुटबल स्टाइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन, आज उनैको देशमा मैले कवितामा गोल हाने,खुशी छु।”

कवि पराजुलीले भोली १० सेप्टेम्बरमा युरोपको अर्को एउटा अत्यन्त सुन्दर देश जो हाम्रो नेपालको भूगोलसंग पनि मिल्छ स्वीजरल्यान्डमा फेवाको उचाई नाप्लान वा एडमन हिलारीको कथा त्यसको लागि भने अरु केही घन्टाहरु प्रतीक्षा गर्नै पर्ला ।

प्रतिक्रिया