१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकी विश्वविद्यालयद्वारा मीरालाई मानार्थ पिएचडी उपाधि

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ०८:०३

काठमाडौं–अमेरिकाको एक युनिभर्सिटीले चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो ।

आइतबार याक एण्ड यति होटलमा प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा।डा। डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् । प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो ।

मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन् । ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइन्, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अष्ट्रा ट्रेलमा दौडने नवप्रतिभाहरुलाई पनि थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा ब्यक्त गरिन् । सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयुद्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गरिन् । उनले जीवनमा आइपर्ने संघर्षदेखि हार नमानेर अगाडि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल हुने बताइन् ।

भोजपुरमा जन्मिएकी राई अन्तर्राष्ट्रिय अल्ट्रा रेसमा चर्चित नेपाली नाम हो । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइसकेकी छन् ।

सो अवसरमा उपराष्ट्रपति पुन र प्रा. डा. मेकेनीले वेस्टक्लिफ युनिभर्सिटीबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका प्रेसिडेन्सियल विजनेश स्कुलका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए ।

दीक्षान्त समारोहमा बोल्दैं स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले आफूलाई चिनेर अगाडि बढ्दा सफलता हात पार्न सकिने बताए । ‘सामान्यतया हामीले अरुले के गरिरहेको वा के गर्न खोज्दैं भन्ने विषयलाई बढी महत्व दिने गर्छौ । यदि त्यसो गरियो भने जहिले अरुलाई पछ्याइरहेको हुनेछौं, कहिल्यै लिडर बन्न सक्दैनौं’ उनले भने । आफ्नो खुबीलाई चिन्न सकेमात्र मीरा राईजस्तै सफल बन्न सकिनेको उनको भनाइ थियो ।

उनले साँचो अर्थमा ब्यवस्थापनका विज्ञहरु बनाउन र बदलिदो परिवेशअनुसार ब्यवहारिक सिकाई प्रक्रियामा खरो उतार्न ब्यवस्थापन शिक्षाको जननी मानिने अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्यमा विश्वस्तरीय शिक्षा नेपालमै सर्वसुलभ रुपमा पे्रसिडेन्सियल बिजनेश स्कुलले प्रदान गरिरहेको बताए । उनले स्कुलका प्रोडक्टहरुले नेपाल र अमेरिकाका विभिन्न ख्यातिप्राप्त संस्थाहरुमा काम गरिरहेका समेत जानकारी दिए । केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

युनिभर्सिटीका प्रा डा मेकेनीले बजारको आवश्यकता र मागअनुसार विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे ।

स्कुलकी शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले प्रेसिडेन्सियल बिजनेश स्कुलमा सैद्धान्तिक तथा व्यवहारिक अध्ययन हुने बताइन् ।