७ बैशाख २०८१, शुक्रबार
Follow Us

कसैको स्वार्थ र आग्रहमा संविधान संशोधन हुँदैन : अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १३:०७

धनगढी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गर्नुभएको छ ।

प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन बुझ्नुपर्नेमा जोड दिँदै परराष्ट्र सम्बन्धका विषयमा भइरहेका राष्ट्रिय नीति विपरीतका काममा नेकपा (एमाले) सहमत छैन भन्नुभयो ।

संविधान कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड रहेको भए पनि यसतर्फ सरकारले काम नगरेको बताउँदै उहाँले देश, जनता र विकासका पक्षमा संविधान संशोधन हुने भए एमालेले साथ दिने बताउनुभयो । उहाँले भन्नुभयो, “कसैको स्वार्थ र आग्रहमा संविधान संशोधन हुँदैन ।” राष्ट्रिय एकता खल्बल्याउने, अग्रगमन र विकासका कामलाई असफल पार्ने कामका विरुद्धमा एमाले लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । वर्तमान सरकार गठन भएकै बेलादेखि सरकारका कामकारबाही अनुचित ढङ्गले भइरहेको उहाँको आरोप थियो ।

पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख विरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रक्रियामा रहेको र यो पारित हुने बताउनुभयो । नेकपा (एमाले)को बुधबार हुने सात नं प्रदेशस्तरीय भेलामा सहभागी हुन अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपालसहित आज यहाँ आइपुग्नुभएको छ ।