११ बैशाख २०८१, मंगलवार
Follow Us

सभापति देउवा उच्चस्तरीय भेटवार्तामा

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १३:३३

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । सभापति देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज बिहान १०ः४० बजे प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपालमा गत वर्ष गएको भूकम्पबाट भएको क्षति र भूकम्प पछिको पुनः निर्माणका सम्बन्धमा छलफल भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले पूर्वगोरखा सैनिकहरु मेहिनती र अनुशासित हुनुका साथै प्राविधिक रुपमा दक्षसमेत रहेका हुँदा पुनः निर्माण कार्यमा उहाँहरुलाई संलग्न गराउँदा चाँडै नै पुनः निर्माण कार्य सम्पन्न हुने बताउनुभएको थियो ।

भेटमा नेपालको संविधान संशोधनलगायत दुई देशबीचको आपसी सम्बन्धका विषयमा समेत छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भेटमा सभापति देउवाले संविधानको कार्यान्वयनका लागि मधेसवादी दललगायत अन्य संसद्मा रहेका राजनीतिक दलसँग संविधान संशोधनका विषयमा छलफल अगाडि बढिसकेको र संशोधित संविधान सबैलाई स्वीकार्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाली एकजुट भएको खण्डमा नेपालले दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको थियो ।

सभापति देउवाले सोमबार साँझ राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभाललाई उहाँकै निवासमा भेट गर्नुभएको थियो । सभापति देउवाले आजै काँग्रेस आइका वरिष्ठ नेता करण सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

इन्डिया फाउन्डेसन, गोवाको निमन्त्रणामा प्रमुख अतिथिका रुपमा सभापति देउवा यही कात्तिक १९ गते भारत प्रस्थान गर्नुभएको थियो । उहाँ बुधबार अपराह्न १२ः४० बजे काठमाडौँ फर्कनु हुने कार्यक्रम रहेको छ ।