६ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपाको आक्रमणबाट कांग्रेस बाँके सभापतिको हात भाँचियो

sarusaru
२७ भाद्र २०७६, शुक्रबार ०७:०६

बाँके खजुरा गाउँपालिका २ सीतापुरमा बिहीबार भएको दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेको नेपाली कांग्रेसले जनाएको छ।

 
 

नेकपाका स्थानीय नेता सुमन मल्लको निर्देशनमा मुमबहादुर वली, निर्मल खत्रीलगायतले सांघातिक आक्रमण गरी बाँके सभापति किरण कोइरालालगायतलाई घाइते बनाएको कांग्रेसले बताएको छ।

बिहीबार दिउँसो रेडक्रसको हलमा कार्यक्रम भइराखेको बेला आफूहरूको प्रभाव क्षेत्रमा कार्यक्रम गर्न नदिने भन्दै नेकपा कार्यकर्ताले आक्रमण गर्दा कोइरालाको हात भाँचिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘यो हाम्रो क्षेत्र हो यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन भन्दै बाँके सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौं कार्यकर्तामाथि सुनियोजित र सांघातिक हमला भएको हो’ विज्ञप्तिमा उल्लेख छ, ‘सभापति कोइरालाको हात फ्याक्चर भएको छ, दर्जनौं कार्यकर्ता घाइते छन्।’

 

यो घटनामा सुरक्षा निकाय परिचालन नगरेको भन्दै कांग्रेसले गृह मन्त्रालय र प्रशासनको पनि आलोचना गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको अराजक कार्यकर्ताको आक्रमणमा सभापति कोइराला घाइते भएको भन्दै आफ्ना कार्यकर्तालाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, जहाँ नारी पुजिन्छन् त्यहाँ देवता खुसी हुन्छन् भनिन्छ। नेकपाका अराजक कार्यकर्ताको आक्रमणमा घाइते किरण कोइराला महिला नेतृ हुनुहुन्छ। आफ्नो सरकार खोज्नुहोस्, तत्काल कारवाही गर्नुस्,’ शर्माले ट्वीट गरेका छन्।

साथै जाँगरका साथ जागरण अभियानमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरेका छन्।

सेतोपाटी