६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युके निर्वाचनः पपुलरभोट सुनारले हात पार्ने, निर्णायक मत गुरुङको पक्षमा !

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७६, शुक्रबार १३:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत (युके) को शनिवार हुने निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।

८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये युके सबैभन्दा ठूलो शाखाको रुपमा उदय भएपछि विश्वभर चर्चा कमाएको हो ।

१३ हजार ३ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुँदैछ ।
अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । गुरुङ र सुनारले आ–आफ्नो छुट्टै प्यानल सहित मैदानमा उत्रिएका छन् । पुनमले समावेशी समूहको नेतृत्व गरेकी छिन् भने सुनारले प्रजातान्त्रिक समूहको नेतृत्व गरेका छन् ।

गुरुङले महासचिवमा पत्रकार फडिन्द्र भट्टराई अघि सारेकी छन् भने सुनारले कर्मा पहाडीलाई उम्मेदवार बनाएका छन् । भट्टराई महासचिवको बलियो उम्मेदवारको रुपमा चर्चामा छन् ।

अध्यक्षका प्रत्यासीद्धयको निर्वाचन क्याम्पेनमा लागेकाहरु आ–आफ्नो पक्षले चुनाव जित्नेमा ढुक्क छन् । लामो समयदेखि समाजमा काम गरेको आधारमा सुनारलाई वेलायतस्थित नेपाली समाजले राम्रोसँग बुझेको आधारमा उनले चुनाव जित्नेमा ढुक्छन् सुनार पक्ष । सुनारलाई पपुलरभोट धेरै जाने सम्भवना धेरै छ तर पपुलरभोट भने निर्णयक छैन ।

गुरुङ पक्ष पनि सम्पूर्ण आँकडा सहित आफ्नो पक्षले चुनाव जित्नेमा उस्तै ढुक्क छ ।

उनीहरुले आफ्नो समूहले बनाएको सदस्यताको सम्पूर्ण अभिलेख समेत तयार गरेको छ भने आवश्यक पर्दा घरघर पुगेरनै मतदातालाई मतदान केन्द्रमा उत्रार्ने तयारीमा छन् ।

५०१ सदस्यीय निर्वाचन प्रसारप्रसार समिति सहित चुनावी मैदानमा उत्रिएको सो समूहले निर्वाचनको दिन ३ सय जना स्वयम सेवक तयारी अवस्थामा राखेको छ ।

पुनम गुरुङ समूहले १३ वटा मतदान केन्द्र मध्ये ९ वटा केन्द्रमा आफ्नो बहुमत आउने निष्कर्ष निकालेको छ ।

४ सय भन्दा कम मतदाता रहेको स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स मतदान केन्द्रमा भने शेर सुनार पक्षको बर्चस्व रहेको छ ।

केन्ट, अल्डरशट, प्लम्वस्टेड, बर्मिघम, लेस्टर, ह्यारो, स्वीण्डन मतदान केन्द्रमा भारी बहुमत आउने गुरुङ पक्षको दावी छ ।

गुरुङ समूहले नेपालब्रिटेन डट कमलाई उपलव्ध गराएको आँकडा अनुसार १२ सय मत अन्तरले अग्रता देखाएको छ ।
सुनार पक्षका किङमेकर मध्यका एक विश्वआर्दश पण्डितले सुनारको जित सुनिश्चित भएको दावी गरेका छन् । ‘चुनावी रणनिती सबै भन्न मिल्दैन् चुनाव पक्का जितिन्छ ढुक्क छौं ।’ पण्डितले भने ।

राजनैतिक दलको कुन कता ?
एनआरएन वेलायतको निर्वाचनमा अन्य देशमा जस्तो राजनैतिक दलको महत्वपूर्ण भूमिका हुँदैन् । अहिले हुन गैररहेको निर्वाचनमा दलहरुको न्यून प्रभाव रहेको छ । तर अध्यक्षका प्रत्यासी शेर सुनारलाई बेलायतस्थित नेपाली जनसम्पर्क समितिले औपचारिक रुपम समर्थन गरेको छ ।

समितिका सभापति युवराज गुरुङ, सुनारको पक्षमा खुलेता पनि कार्यकर्ताहरु भने विभाजित छन् । यस्तै पूर्व एमाले र माओवादी कार्यकर्ताहरु समेत प्रष्ट दुई ध्रुवमा विभाजित छन् ।
नेकपा नेताहरु भक्त गुरुङ, रामशरण सिम्खडा, पुनम गुरुङको पक्षमा खुलेर लागेका छन् भने वर्तमान अध्यक्ष राजेन्द्र पुडासैनी, कांग्रेस उम्मेदवार शेर सुनारको पक्षमा लागेका छन् ।
पूर्वमाओवादी खेमा समेत एनआरएन युकेको निर्वाचनमा दुई ध्रुवमा छन् । मोर्चाका अध्यक्ष सुरेश गौतमले सुनारलाई समर्थन गरेका छन् भने पार्टी अध्यक्ष रण बहादुर केसी खुलेर पुनमको पक्षमा लागेका छन् ।

एनआरएन नेताहरु तथा पूर्वअध्यक्षहरु को कता ?

एनआरएन युकेका अध्यक्ष वर्तमान अध्यक्ष योग कुमार फगामी खुलेर पुनम प्यानलमा लागेका छन् । यस्तै पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्र कंडेल, डमर घले, मुछेत्र गुरुङ समेत पुनमकै पक्षमा छन् । घले निर्वाचन आयुक्त भएका कारणले मध्यमार्गी भूमिमा छन् । यस्तै पूर्वअध्यक्षद्धय कूल आचार्य र योगेन क्षेत्रीको समर्थन सुनार पक्षमा छन् । तर आचार्यले आफु संरक्षक भएको हुनाले कुनै पक्षमा नलागेको दावी गरेका छन् । यस्तै गत निर्वाचनमा अध्यक्षका प्रत्यासीद्वय हिराधन राई र कृष्ण तिमल्सिना समेत पुनम गुरुङको पक्षमा छन् ।

चुनाव हेर्न केन्द्रिय नेताहरुको ओइरो
शनिवार हुने निर्वाचन हेर्न गैरआवासीय नेपाली संघका नेताहरु वेलायत आउने तयारीमा छन् । यसैक्रममा अमेरिका, अस्ट्रेलिया र मध्यपूर्व संयोजकहरु क्रमशः गौरीराज जोशी, धर्मराज अधिकारी, आरके शर्मा लण्डन उत्रिने तयारीमा छन् । यस्तै संघका केन्द्रिय सल्लाहकार डा. हेमराज शर्मा समेत निर्वाचन अवलोकन गर्न विभिन्न मतदान केन्द्रमा पुग्ने भएका छन् ।

मिडियाको भूमिका
नेपाली मुलधारे मिडियाको प्रभाव रहेको वेलायतमा रहेका संचारकर्मीले एनआरएनए निर्वाचनलाई निकै महत्वपूर्णका साथ समाचार छापेका छन् । वेलायतमा कान्तिपुर, नागरिक, रातोपाटी डटकम र सेतोपाटी डटकमले औपाचारिक रुपमा आफ्ना संवादाता राखेका छन् । संघको निर्वाचनमा महासचिवका उम्मेदवार फडिन्द्र भट्टराई सेतोपाटी डट कमका वेलायत संवादाता समेत हुन् ।

स्थानीय अनलाइन समाचार पोर्टलहरुले उम्मेदवारहरुसँगको व्यक्तिगत सम्वन्ध र पहुँचको आधारमा निर्वाचन सम्वन्धी समाचार प्रकाशन गर्ने गरेका छन भने केही अनलाइनले उम्मेदवारको पछिलग्गुवाको भूमिका निर्वाह गर्दे व्यापार गर्न सकृय छन् ।

त्यस्ता मिडियालाई वेलायतस्थित नेपाली समूदायतले मुलधार मिडियाको रुप हेर्दैन । केही युट्यवरहरुले उम्मेदवारको बाध्यतालाई बुझेर मागिखाने भाँडो बनाउन पछि हटेका छैनन् । समग्रमा वेलायतस्थित नेपाली पत्रकारहरुले एनआरएन युके सम्वन्धी समाचारलाई सन्तुलनमा राख्न खोजेका छन् ।