८ बैशाख २०८१, शनिबार
Follow Us

जहाजमा पर्यटनमन्त्री माथि आक्रमणको प्रयास गर्ने ज्ञानेन्द्र शाही पक्राउ

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार ०९:४७
काठमाडौं । नेपालगञ्ज विमानस्थलमा एक घण्टा जहाज रोकाएको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईसँग विरोध जनाएका ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पुल्चोकबाट पक्राउ गरेको हो। उनले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले आज पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा पुगेका केही व्यक्तिलाई उनलाई प्रश्न गर्न खोजेका थिए। शाहीको समूहले उनीहरुलाई रोकेको थियो। रोेक्ने क्रममा धकेलाधकेल हुँदै हात हालाहालको अवस्था आएको हो। उनले शनिबार नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराईको विरोध गरेका थिए। एक घण्टा जहाज रोकाएको भन्दै उनले पर्यटमन्त्री भट्टराईलाई र्‍याखर्‍याख्ती पारेका थिए। उनीसँगै अन्य यात्रुले पनि भट्टराईको विरोध गर्दै होहल्ला गरेका थिए। उनले त्यही विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिन खोजेका थिए। प्रहरीले भने उनको सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।