१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदै

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार १६:२७

 काठमाडौं । झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालिन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विर्थार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन् ।

उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’ लाई आत्मपरक शैलीमा लेखेका छन् । पब्लिकेसन्स नेपालयबाट प्रकाशीत हुन लागेको केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण रहेको छ । केही मानिसको जीवनकथा वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् ।

प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् साथै उनी झापा आन्दोलनबाट शुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूको संगतको किनारबाट अघि बढेको थियो । पढाइकै क्रममा नेत्र ज्योति गुमाएका प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’मा विगतका तिनै अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन् । खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ ।

केआर खम्बूले स्कुले जीवनदेखि नै तत्कालिन भूमिगत पार्टी ‘नेकपा माले’को निकट रहेर राजनीति शुरु गरेका हुन्छन् । उनी संलग्न रहेको राजनैतिक पार्टीले उतिबेला विद्यालय, विश्वविद्यालयको पढाइलाई ‘बुर्जुवा’ शिक्षा भनेर महत्व दिँदैनथ्यो र ‘बुर्जुवा’ शिक्षा बहिस्कारको अभियान नै पनि चलाएको थियो तर केआर खम्बूले पढाइप्रतिको आफ्नो मोहलाई त्यतिबेला पनि खस्किन दिएनन् । त्यसैले उनको जीवन यात्रा क्रान्ति र प्रज्ञाको दोसाँध हुँदै अघि बढ्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट भने पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए । पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै अचानक उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे । आँखाको दृष्टि गुमेपछि पनि खम्बूको ज्ञान आर्जनको मोह अझै साम्य भएको छैन । उनी अहिले पनि ल्यापटपको बोलिदिने सफ्टवेयरमार्फत् आफ्नो अध्ययनको क्षेत्रलाई फराकिलो बनाइरहेका छन् ।

 

हाल मेची क्याम्पसमा प्राध्यापन गरिरहेका केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक पाठकसामु आउन लागेकोमा निक्कै उत्साहित छन् । भन्छन्- ‘पुस्तक सार्वजनिक हुने खबरले म रोमाञ्चक भएको छु । आफ्नो जीवनको कथामार्फत् मैले मेरो परिवेश र उतिबेलाको समयको कथा बुनेको हुँ । आफ्नो कथा भन्दैगर्दा मेरा अगुवा र दौंतरीहरूको समय र कथा पनि जोडिएर आएका छन् । एउटा सामान्य मान्छेको संघर्षको कथालाई पाठकहरूले रुचाइदिनु होला भन्ने आशा छ ।

‘ प्राध्यापक केआर खम्बुको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोलेको छ । यसले एउटा राजनीतिक कालखण्डको सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ । प्राध्यापक खम्बूले आफ्नो जीवनको कथा लेखनमा सरल र रसिलो भाषाको प्रयोग गरेका छन् । दशैं अगावै सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई पांच सय ४५ रुपैयाँ तय गरिएको छ ।