७ बैशाख २०८१, शुक्रबार
Follow Us

डेनमार्कमा नेपाली क्रिकेट, एभरेस्ट ब्लास्टरसकाे जित

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार २३:५०

 शशि ढकाल । कोपनहेगन । क्रिकेट प्रेमी नेपालीहरुको अग्रसरतामा डेनमार्कको राजधानी कोपनहेगनमा भएको सुपर सिक्स क्रिकेट टुर्नामेन्टमा एभरेस्ट ब्लास्टरसले जित हात पारेको छ। कुल ८ टिम सहभागी भएको उक्त प्रतियोगितामा एभरेस्ट ब्लास्टरसका क्याप्टेन जेम्स कार्की बेस्ट फ़िल्डर, बेस्ट बलरका साथै म्यान अफ द सिरिज भए भने बेस्ट क्याच आकाश खड्काको हातमा पर्यो । त्यस्तै फेएरप्ले इशोज क्याराभान टिम घोषित भयो। सुपर सिक्स क्रिकेट टुर्नामेन्ट आयोजक कमिटीको तर्फ़बाट टुनामेन्ट आयोजनाको सफलतापछि जारी गरिएको सूचनामा सबै टिम क्याप्टेन, खेलाडी तथा सुबेक्षकहरुलाई धन्यबाद दिएको छ। साथै विशेष सहयोग गरेबापत कोपेनहेगन क्रिकेट क्लबका अध्यक्ष शेख सलीमलाइ विशेष धन्यवाद दिइएको छ। त्यसोत डेनमार्कवासी नेपालीहरुमा धेरै खेलकुदका प्रतियोगिताहरु हुने गरेका छन्। क्रिकेट मात्र त्यस्तो खेल हो, जसमा नेपाली खेलाडीहरु व्यवसाहिकतातर्फ लम्कि रहेका छन्।

यो खेलाडीहरुको मात्र होईन, सबै नेपालीहरुले गर्व गर्न लायकको कुरा भएको छ। अब सबै सरोकारवालाहरुले खेलाडीहरुको हौसला बढाउन आवश्यक छ। २०१३ मा केहि क्रिकेट प्रेमी नेपाली हरुको अग्रसरतामा डेनमार्कको राजधानी कोपनहेगनमा, क्रिकेटमा डेनमार्कमा भएका नेपाली खेलाडीहरुमा उत्सुकता जगाउने हिसाबले विवाहित र अविवाहित नेपाली टोलीबीच प्रतिस्पर्धा भएको थियो। सोहि प्रतिस्पर्धापछि कोपनहेगनमा बस्ने नेपालीहरुबीच क्रिकेट क्रेज बढ्दै जाँदा आज यहाको नेपाली क्रिकेट क्लब हिमालयन स्पोर्ट क्लब डेनमार्कको दोस्रो डिभिजन अन्तर्गतको प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।

आफु आफु मिलेर क्रिकेट खेल्दै गरेका हामीबीच पनि केहि उत्कृष्ट खेलाडीहरुको डेनमार्क आगमनसँगै डेनिस क्रिकेटलिग खेल्ने सपना पलाएको हो। नेपालीहरुको क्रिकेट टिम हिमालयन स्पोर्ट क्लबका कप्तान विप्लव अग्रहरीले सुरुवाती दिन सम्झदै भने, ‘हामीले डेनिस क्रिकेट लिग खेल्न निकै पापड बेल्नु पर्यो, सुरुमा हाम्रोले खेल्न सक्छ भनेर क्रिकेट बोर्ड एशोसिएशन अफ डेनमार्कले हामीलाई विश्वासनै गरेन, हामीले हाम्रो खेल रेकर्ड गरेर पनि देखायौ तापनि उनीहरुले विश्वास गरेनन्। तर पछि हाम्रो प्रतिभालाइ कदर गर्न उनीहरु बाध्य भए। त्यस्तै हिमालयन स्पोर्ट क्लबका क्रिकेट संयोजक कृष्ण चन्दले नागरिक न्यूजसँग कुरा गर्दै भने २०१३ देखि लगातार क्रिकेट क्लब दर्ता गर्न प्रयास गरेका हामीले २०१६ सम्म पनि हाम्रो क्लब क्रिकेट बोर्ड एशोसिएशन अफ डेनमार्कमा दर्ता हुन सकेन तर भाग्यबस डेनमार्कमा भएको डेनमार्क भरिका क्लबहरुको १० – १० ओभरको समर म्याचमा हाम्रो क्लबलाई नयाँ सहभागी क्लबको रुपमा खेल्न दिइयो।

यस प्रतियोगिताको पहिलो म्याचमा नै यहाको राष्ट्रिय खेलाडीहरु संलग्न रहेको इलाइटक्लबलाई हराएर चक्म्मा दिएपछि लुकेर बसेका हिमाली देशका प्रतिभाहरु भन्दै स्थानीय मिडियामा हाम्रो खेलको तारिफ छापियो त्यसपछि मात्र हाम्रो क्लब सिधै तेर्स्रो डिभिजनको लागि दर्ता भयो हिमालयन स्पोर्ट क्लबका क्रिकेट संयोजक कृष्ण चन्दले भने।

तेस्राे डिभिजनमा क्लब दर्तासँगै कोपनहेगन कम्युनले क्लबलाई इन्डोर र आउटडोर क्रिकेट खेल मैदान उपलब्ध गराएको थियो। खेलाडीहरुको अथक प्रयास र मिहेनत पछि विभिन्न चरण पार गर्दै तेस्राे डिभिजनको खेल प्रतियोगितामा १३ क्लबहरु मध्ये ११ क्लबहरु लाई हराई प्रतियोगिताको च्याम्पियन बनी हाल नेपाली क्लब डेनमार्कमा दोश्रो डिभिजनमा खेलीरहेको छ। क्लबका अध्यक्ष विवेक श्रीस रानाले भने, हाम्रो उदेश्य भनेको क्लब लाई प्रथम डिभिजनमा पुर्याउने र हाम्राकेहि खेलाडीले डेनिस क्रिकेटको नेसनल टिमबाट खेलुन भन्ने हो।

क्रिकेट बोर्ड एशोसिएशन अफ डेनमार्कले हिमालयनलाई उत्कृष्ट र अनुशासित टिम घोषित गरेको भन्दै यसै टिमका खेलाडी दीपेन्द्र बिस्टले टिमले पहिलो डिभिजन खेल्न थाले पछिमात्र डेनिस सरकारले आर्थिक सहयोग गर्ने भएकोले क्लब आर्थिक रुपमा कमजोर रहेको बताए।

उनले डेनमार्कमा रहेका नेपाली समुदायले क्लबलाइ विभिन्न सहयोग गरीरहेता पनि, नेपाली समुदाय लाई आर्थिक सहयोग को लागि आग्रह समेत गरे। क्लबको भविष्यप्रति आशावादी हुँदै टिम म्यानेजर शुभाषिस ओझाले नेपाली समाजमा हुर्कदै गरेका नेपाली बच्चाहरुलाई लक्षित गर्दै बच्चाहरुहरुलाई पनि क्रिकेटमा समावेश गर्ने योजना बनाइरहेको बताए।