७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस-सरकार सम्बन्ध चिसिँदै

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०२:१६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी झन् बढ्ने क्रममा छ । यसकारण, दुई दलबीचको सम्बन्ध चिसिँदै जान थालेको छ । प्रतिपक्षसँगको सहमतिबिना एकतर्फी रूपमा विभिन्न विधेयक ल्याइएको भन्दै सरकारसँग असन्तुष्ट बनेको कांग्रेस पछिल्लो समय बाँकेमा जागरण अभियानका क्रममा आफ्ना नेता कार्यकर्तामाथि सत्ता निकट दलका कार्यकर्ताबाटै आक्रमण भएपछि झनै रुष्ट हुँदै आएको छ ।

गत बिहीबार बाँकेको खजुरामा आयोजित जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालासहित केन्द्रीय प्रतिनिधिलगायत माथि आक्रमण भएको थियो । सो क्रममा सभापति कोइरालाको हात भाँचिएको छ । कांग्रेसले सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार प्रतिपक्षसँग दूरी घटाउने भन्दा पनि बढाउने गरी अघि बढिरहेको बताए ।
‘सरकार प्रतिपक्षसँग दूरी घटाउनेभन्दा बढाउने गरी अघि बढ्दै छ । प्रधानमन्त्री प्रतिपक्षले उठाएका विषयमा प्रतिबद्ध छु भन्ने तर व्यवहारमा परिणाम नआउने अवस्था आइरहेको छ,’ कांग्रेस प्रमुख सचेतक खाँडले राजधानीसँग भने ।
उनले सरकारका पछिल्ला कदम दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको बताए । राजधानी दैनिकमा खबर छ ।