१५ चैत्र २०८०, बिहीबार
Follow Us

पर्यटनमन्त्री योगेश भट्टराई किन आलोचित ?

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०२:५८

काठमाडौँ – डेढ महिनाअघि संस्कृति, पर्यटन नथा नागरिक उड्ययनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो ।

सामाजिक सञ्जाल र सञ्चार माध्यम उनका प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे ।

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा भट्टराई आएका थिए । संसद् र यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डलमा प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् ।

किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका कही प्रतिनिधिमूलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ । ‘राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो ?’ नागरिकस्तरबाट प्रश्न उठेको छ ।

राष्ट्रिय गान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगन्जमा जहाज उडान ढिलाइ भएको घटना बाहिरियो ।

धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो । यसलाई ज्ञानेन्द्र शाहीलगायत व्यक्तिले विमानभित्रै विरोध गरे । यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्स कम्पनीले स्पष्टीकरण दिइसकेका छन् । स्पष्टीकरणले ढिलाइको कारण खुट्याइसक्यो तर यो प्रकरणले केही प्रश्न भने पुनः जन्माइदिएको छ ।

उनले साँझ स्वकीय सचिव प्रेम गुरागाईंको नाममा नेपालगन्ज घटना र त्यहाँ देखिएको प्रवृत्तिमाथि टिप्पणी गर्दै विज्ञप्ति जारी गराए । विज्ञप्तिमा प्रयुक्त भाषा पनि विवादमा परेको छ । नेपालगन्ज घटना र त्यसपछिका प्रतिक्रियालाई लक्ष्य गर्दै विज्ञप्तिमा ‘आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संविधानविरोधी हर्कत जारी राखेका छन्’ भन्ने उल्लेख छ । त्यस्तै यस्ता ‘मण्डले प्रवृत्ति’ को विरोध र धम्कीले रत्तिभर विचलित नहुने पनि बताइएको छ ।

उनको यो विज्ञप्तिपछि आलोचना गर्नेहरूलाई ‘मण्डले’ का रूपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रीप्रति थप प्रश्न आएका छन् ।
समग्रमा पर्यटन र हवाई क्षेत्रमा सुधार ल्याउन उनले केही योजना ल्याएका छन् । हवाई उडानमा ७० कटेका वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिने घोषणा गरे तर उनको घोषणालाई वायुसेवा सञ्चालकले नै विरोध गर्दै आएका छन् । भट्टराईबाट पनि अन्य मन्त्रीहरूकै शैलीमा भाषण आउने, पपुलिस्ट जस्ता लाग्ने कुरा सार्वजनिक हुँदा उनीप्रति आलोचना गर्नेलाई बल मिलिरहेको छ ।कान्तिपुर दैनिकमा खबर छ ।