१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नगर प्रमुख शाक्यको छुट्टाछुट्टै शिष्टाचार भेट

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०७:५६



इन्द्रजात्रा अवलोकन गर्न आएका अन्तरराष्ट्रिय नगरका प्रमुख तथा प्रतिनिधिसँग प्रमुख शाक्यको छुट्टाछुट्टै शिष्टाचार भेट

काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका अन्तरराष्ट्रिय नगरका प्रमुख÷उपाध्यक्ष तथा प्रतिनिधिहरुले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेर आपसी हित र नागरिक सहभागिता बढाउने कार्यक्रमका बिषयमा कुराकानी गरेका छन् । यसरी भेट गर्ने प्रमुख तथा प्रतिनिधिलाई प्रमुख शाक्यले इन्द्रजात्रासँगै काठमाडौंमा भएका जीवन्त सांस्कृतिक सम्पदाका बारेमा आफ्ना नागरिकलाई सुनाउन आग्रह गर्नुभयो । जातजाति र भाषाभाषीको अन्तरघुलनबाट जीवन्त बनेको काठमाडौंमा, मनदेखि चाहेर जात्रा पर्व सञ्चालन हुन्छन् । मेयर शाक्यले थप्दै भन्नुभयो — यहाँकै जस्तो गरेर संसारका बिभिन्न ठाउँमा संस्कार चलेर गएका छन् । त्यहाँ पर्व मनाउँदा रमाइलोका लागि मनाइन्छ, यहाँ श्रद्धापूर्वक । यो जीवन्त सहरभित्र लुकेका रमाइला कुरा हामी आगन्तुकलाई देखाउँछौं ।

अन्तरराष्ट्रिय नगर साझेदारि कार्यक्रममा सकेसम्म नागरिक आफैं सहभागी हुने नत्रभए पनि महसुस गर्ने कार्यक्रम हाम्रा प्राथमिकतामा पर्छन् । सांस्कृतिक पक्षको आदानप्रदानसँगै पूर्वाधार बिकास, स्वास्थ्य, शिक्षा, खेलकुद, सामाजिक बिकास, व्यापार वाणिज्य, पर्यटनलगायतका क्षेत्रमा साझा कार्यक्रम तय गरौं । मेयर शाक्यले भन्नुभयो — यी कार्यक्रममा जनता सहभागी हुन पाउँछन् । यसबाट उनीहरुले महसुस हुने गरी लाभ पनि पाउँछन् ।

भेटका क्रममा ल्हासाका मेयर गुहेओ गुहेओले भन्नुभयो — इन्द्रजात्रा पर्व अलौकिक रहेछ । काठमाडौंका धेरै कुरा राम्रा रहेछन् । मैले बुझे अनुसार काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा अझै समस्या छ । त्यो समस्या समाधान गर्न ल्हासा नगरकोतर्फबाट २ बटा फोहोर कम्प्याक्टर सवारी उपलब्ध गराउँछु । काठमाडौं र ल्हासाको भगिनी सम्बन्ध स्थापना भएको १० बर्ष पुग्दैछ । त्यस अवसरमा ल्हासामा संयुक्त कार्यक्रम आयोजना गरेर नागरिकलाई हाम्रो सम्बन्ध महसुस गराउँ, मेयर गुहेओको प्रस्ताव थियो ।

ल्हासामा मेयरको भेटपछि चीनकै लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ्ले मेयर शाक्यलाई भेट गर्नुभयो । त्यस क्रममा उहाँले भन्नुभयो — यो कार्यक्रममा आउन मेयरले इच्छा गर्नुभएको थियो । नगरको जरुरी काम भएकोले उहाँ आउन सक्नु भएन । उहाँले कार्यक्रम सफलता र सहयोग निरन्तरताका लागि पत्र पठाउनुभएको छ । उपाध्यक्ष ज्याङ्ले लाञ्जाउका मेयरले पठाउनुभएको पत्र महानगरका मेयरलाई प्रदान गर्दै भन्नुभयो — हामी इन्द्रजात्रा र काठमाडौंका भित्री कुरा हेर्न पाउँदा धेरै खुशी छौं ।

भदौ २७ गते कुमारी रथयात्रा पछि खाना खाएर शुरु भएको भेटका क्रममा संयुक्त राज्य अमेरिकाको सिटी अफ फेडेरिकबर्गकातर्फबाट फेडरिकबर्ग काठमाडौं सिस्टरसिटी कमिटिका संयोजक तथा ग्लोवल पिस फाउन्डेसनका अन्तरराष्ट्रिय उपाध्यक्ष डेभिड लुइस कप्राराले मेयर शाक्यसँग भेट गर्नुभएको थियो । सिटी अफ फेडरिककी प्रमुख म्यारी क्याथरिन ग्रीनलले, इन्द्रजात्रा हेर्न आउन नपाएकोमा दुःख लागेको जनाउँदै जात्रा सफल बनाउन शुभकामना दिएको पत्र मेयर शाक्यललाई प्रदान गर्दै कप्राराले अनुसन्धानमा आधारित सहरी बिकास र शैक्षिक आदानप्रदानमा दुई नगरबीच साझेदारिताको सम्भावना रहेको बताउनुभयो । सिटी अफ फेडरिकवर्गले युनिभर्सिटी अफ मेरी वासिङ्टनसँग मिलेर काम गरिरहेको छ । यता नेपालमा पनि काठमाडौं महानगरले त्रिभुवन बिश्वबिद्यालयसँग साझेदारिता ग¥यो भने यस्तै प्रकारका दुई नगरबीचको सम्बन्धबाट सहरी बिकासमा बिज्ञहरुलाई सहभागी गराउने, बिद्यार्थीहरुलाई सहरी बिकासको अनुसन्धानको काममा लगाउने सम्भावना रहन्छ । कप्राराले भन्नुभयो — सिटी अफ फेडरिकवर्ग फोहोर व्यवस्थापन र हरियाली प्रबर्धनको काम सघाउन इच्छुक छ, ।

भदौ २८ गते चीनको सेञ्चेन नगरका प्रतिनिधिले प्रमुख शाक्यलाई भेटे । नगरको अन्तरराष्ट्रिय मामिला कार्यालयका उपमहा निर्देशक टाङ् फ्युइङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मेयर शाक्यसँग भेट्दै सेञ्जेनमा आउँदो बर्ष आयोजना हुने हाइ — टेक मेलामा सहभागी हुन निमन्त्रणा दिए । यस अघिका बर्षहरुमा भएका मेलामा नेपालको सहभागिता हुने गरेको छ । टाङ्ले भन्नुभयो — त्यस मेलामा पर्यटन प्रवर्धनको स्टल राख्न सकिनेछ ।

यसरी भेट गर्ने प्रतिनिधिमण्डलले इन्द्रजात्रा पर्वलाई जीवन्त पर्व भनेका थिए । एउटै पर्वमा अनेक गतिबिधि, हरेक—हरेक मानिसको सहभागिता, सबैको एउटै ध्यान, सबै उत्तिकै व्यस्त, यस्तो पर्व आफ्नो जीवनकालमा कहीँ देखेको थिएन । उनीहरुले भने — यस्तो पर्व अन्यत्र शायदै छैन होला । पाहुनाको कुरा सुन्दै मेयर शाक्यले — जात्राभित्रका आयाम, यसमा जनता किन सहभागी हुन्छन्? जनता के बिश्वाश गर्छन्, जस्ता बिषयमा स्पष्ट पार्नुभएको थियो ।

महानगरको निमन्त्रणामा यस बर्षको इन्द्रजात्रा अबलोकन गर्न ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी हुनुभएको थियो । यीमध्ये चीनको ल्हासा, लाञ्जाउ, सेञ्चेन र संयुक्त राज्य अमेरिकाको सिटी अफ फेडरिकवर्गका प्रमुख तथा प्रतिनिधिले महानगरका प्रमुख शाक्यसँग भेट गरे भने चीनको नाञ्जिन नगरका प्रतिनिधिमण्डलले कर्मचारी स्तरमा भेटघाट गरे ।