लण्डन –गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् ।

डा शर्माले सबैको एनआरएनए, सबल र बहुआयामीक एनआरएनए , स्मार्ट एनआरएनए , परिणाममुखी एनआरएनए , दीगो एनआरएनए , सिप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए गरी निर्देशक सिद्दान्त ९मन्त्र०लाई आत्मसात् गर्दै काम गर्ने प्रतिवद्दता जनाएका छन् ।

शर्माले हाल संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध रहेको भन्दै आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन् ।

यस्तै भिजन २०२० एण्ड बियोडको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गर्ने, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय परिषद्मा एउटा छुट्टै निकायको व्यवस्था गर्ने, वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे श्वेतपत्र तयार गर्ने, प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमार्फत थोरै आम्दानी हुने नेपालीहरुले लगानी गर्न सक्ने वातावरण तयार गर्ने जस्ता विषय डा शर्माको प्रतिवद्धतापत्रमा समेटिएको छ।

 

गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको नमूना संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदाय बिच समन्वय गर्न पुलको रुपमा काम गर्ने, गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने जस्ता विषय पनि शर्माको चुनावी प्रतिवद्धतापत्रमन उल्लेख गरिएको छ । यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि शर्माले बताएका छन् ।

जसअनुसार संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गर्ने, परियोजना छनोटसम्बन्धी नीति बनाई पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाउने, हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गर्ने, संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गर्ने जस्ता विषय समेटिएका छन् ।

यसैगरी सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने पनि डा शर्माले जनाएका छन् । जसअनुसार भिजन–२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्ने, गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने, संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरु समक्ष आफ्नो उत्पादनको विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिनजस्ता विषय समेटिएको छ ।

यस्तै गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने, संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने, आर्थिक पारदर्शिताका कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गर्ने, एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न विद्युतिय माध्यमबाट ‘एनआरएनएसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गर्ने र यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार आदि) बारे पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिने शर्माको घोषणापत्रमा उल्लेख छ ।

यसैगरी पदाधिकारी गैरआवासीय नेपाली संघका सदस्यप्रति उत्तरदायी रहनका सागि उच्चआचरण कायम राख्नुपर्ने व्यवस्था कडाईका साथ लागू गर्ने, एनसीसी र आइसीसीका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाइ राजनीतिक रुप नदिन पहल गर्ने पनि उनको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यसैगरी गैरआवासीय नेपालीहरुका चासोको विषयहरुमा संघले आधिकारिक धारणा बनाइ त्यस्ता आधिकारीक धारणा बारे नेपाल सरकार र अन्य सम्वन्धित निकायहरुसँग प्रभावकारी संवाद गर्नका लागि प्रतिनिधिहरुको छनोट गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।

यसैगरी आर्थिक पारदर्शिताका लागि संघको अनुमातिक वार्षिक आयव्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिने पनि प्रतिवद्धतापत्रमा समेटिएको छ । ‘गैरआवासीय नेपाली संघ स्थापना भएको सन् २००३ को दाँजोमा अहिले हामी बेग्लै अवस्थामा प्रवेश गरेका छौं। प्रविधिले फड्को मारेको छ ।

देशभित्रको राजनीति स्थिति र अन्तर्राष्ट्रिय आर्थिक धरातलमा परिवर्तन आएको छ । बाहिर बस्ने नेपालीहरुको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनुका साथै उनीहरुको आर्थिक तथा पेसागत अवस्था सवल भएकोछ। दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु विदेशमा जन्मेहुर्केको पुस्ता को संख्या क्रमशस् बढ्दो छ । एनआरएनएका संस्थापकहरु संघको सकृय नेतृत्वमा हुनुहुन्न ।

बदलिएको यस चुनौतीपूर्ण परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको मार्गवित्र तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको छ । यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वासका साथ संघको आगामी कार्यकाल ९सन् २०१९–२१० का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’ शर्माले आफ्नो चुनावी प्रतिवद्धतापत्रको भूमिकामा भनेका छन् ।

संघ बलियो भयो भने मात्र मातृभूमिका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका आफूल उम्मेदवारी दिएको बताउँदै उनले भनेका छन्, ‘महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ को हुन् शर्मा रु एनआरएनभित्रका प्लान सेटरका रुपमा परिचित शर्मा विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघमा सक्रिय छन् ।

गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार भए उनी । यस्तै उनले विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल सो समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । सोही समितिमा रहि संघको नयाँ विधान ९२००७ मा परिमार्जित० को खाका कोर्ने देखि संघका अधिकांश नियमावलीहरु निर्माण गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका खेलेका छन् ।

यस्तै सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन पनि डा शर्माले नै गरेका थिए भने कार्यकारी पदमा नरहँदा पनि उनी संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्त्वपूर्ण बैठक गोष्ठीमा सहभागीद हुँदै आएका छन् । हालसम्मका पाँच वटै अध्यक्षहरु उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामिछाने, शेष घले र भवन भट्टको समितिमा रही उनले केही न केही भूमिकामा काम गरेका छन् । नेपालको बागलुङमा जन्मि हाल विश्वप्रसिद्ध लिभरपुल विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनी एनआरएनभित्रका वौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

उनले निरन्तर गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकारलगायतका आप्रवासी हकहितका विषयमा आवाज उठाउँदै आएका छन् । यसका अतिरिक्त पेशागत रुपमा उनले बेलायत, जापान, जर्मनी, ईटालीका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्यन, अध्यापन र अनुसन्धानबाट ज्ञान, सिप र अनुभव हासिल गरेका छन् । डा शर्मा भन्छन्, ‘म महासचिवमा निर्वाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिकवर्गको प्रतिनिधित्व मात्र हुने छैन संघमा हालसम्म निराशाजनक रहेको यो समुदायकय सहभागितालाई समेत थप उत्साहित बनाउनेमा विश्वस्त छु । फलतः यसले गर्दा ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउने संघको योजनामा टेवा मिल्ने छ ।’

उनको घोषणापत्रमा भनिएको छ, ‘विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने मित्रहरुलाई म पद र प्रतिष्ठाका लागि भन्दा संघलाई ठोस् योगदान दिने उद्देश्यले एनआरएनएमा सक्रिय हुदै आएको तथ्य अवगतै छ। त्यही विगतलाई साक्षी राखी यसपटक कार्यकारी पदमा बसेर संघलाई अझ बढी योगदान दिन सकिने विश्वाससहित महासचिव पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ ।

संघ बलियो भयो भने मात्र मातृभूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’ एनआरएन विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । एनआरएनको नेतृत्वमा कुमार पन्त र कूल आचार्यबीच प्रतिस्पर्धा हुने लगभग पक्कापक्की भएको अवस्थामा शर्मालाई भने महासचिव पदको एक शसक्त प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव पदका उम्मेदवार डा. हेम राज शर्मा चुनावी प्रतिबद्धता पत्र आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ ।

स्थापनाको १६ वर्षिय अवधि मै ८१ देशमा औपचारिक सञ्जालको विस्तार गरेर बाहिर बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता तथा आप्रवासी कामदारहरुसँग जोडिएका ऐन कानून मार्फत गैरआवासीय नेपालीहरुका हकहितका विषयहरु सम्बोधन मात्र भएको छैन, हामी विदेशमा बस्नेहरुमा पनि मातृभूमीप्रतिको दायित्व झन् थपिएको छ । गैरआवासीय नेपाली संघ स्थापना भएको सन् २००३ को दाँजोमा अहिले हामी बेग्लै अवस्थामा प्रवेश गरेका छौं । प्रविधिले फड्को मारेको छ। देश भित्रको राजनीतिक स्थिति र अन्तर्राष्ट्रिय आर्थिक धरातलमा परिवर्तन आएकोछ ।

बाहिर बस्ने नेपालीहरुको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनुका साथ उनीहरुको आर्थिक तथा पेसागत अवस्था सवल भएकोछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु (विदेशमा जन्मे हुर्केको पुस्ता)को संख्या क्रमशः बढ्दो छ । एनआरएनएका संस्थापकहरु संघको सकृय नेतृत्वमा हुनुहुन्न । बदलिएको यस चुनौतीपूर्ण परिस्थितिमा गैरआवासीय नेपाली संघलाई समय सापेक्ष विकास गर्ने र सुदूर भविष्यको मार्गचित्र (roadmap) तयार गर्ने अवसर यसपछिको पुस्तालाई आएको छ ।

यस ऐतिहासिक घडीमा म पनि यो प्रक्रियाको एक हिस्सा बन्न सक्छु भन्ने आत्मविश्वासका साथ संघको आगामी कार्यकाल (सन् २०१९–२१)का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसि)को महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । विगत १४ वर्ष म गैरआवासीय नेपाली संघमा लगातार सक्रिय रहेको यहाँहरुलाई अवगत नै छ । गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकार छु । विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल यस समितिको संयोजकको भूमिका निर्वाह गरिसकेको छु ।

यस समितिमा रहि संघको नयाँ विधान (२००७ मा परिमार्जित) को खाका कोर्ने देखि संघका अधिकांश नियमावली–हरु निर्माण गर्ने क्रममा खेलेको नेतृत्वदायी भूमिका यहाँहरु मध्ये धेरैलाई थाहा भएको विषय हो । यो बीचमा सन् २०१८ को एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन गर्ने अवसर पनि मिल्यो । कार्यकारी पदमा नरहँदा पनि संघले आयोजना गरेका सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र महत्वपूर्ण बैठक गोष्ठीमा भाग लिँदै आएको छु । हालसम्मका पाँच वटै अध्यक्षहरु (उपेन्द्र महतो, देवमान हिराचन, जीबा लामि–छाने, शेष घले र भवन भट्ट) को समितिमा रही प्रत्यक्ष सम्पर्कमा रहेर केही न केही भूमिकामा काम गरेको छु ।

गैरआवासीय नेपालीहरुको नागरिकता तथा मतदान अधिकार लगायतका आप्रवासी हकहितका विषयमा राष्ट्रिय मुलधारका संचार माध्यमहरुमा लेख्दै र बोल्दै आएको छु । संघका ऐतिहासिक दस्ताबेजको संकलन, प्रकाशन, तथा संघ र यसका अभियान सम्बन्धी लेखरचना प्रकाशन गरी जनमानसमा पुर्याउँदै आएको छु । यसका अतिरिक्त पेशागत रुपमा मैले बेलायत, जापान, जर्मनी, ईटालीका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्यन, अध्यापन र अनुसन्धानबाट आर्जन गरेको ज्ञान, सिप र अनुभवबाट पनि गैरआवासीय नेपाली संघ लाभान्वित हुनेछ भन्ने विश्वास लिएको छु ।

यसर्थ म महासचिवमा निरवाचित हुँदा गैरआवासीय नेपाली संघमा प्राज्ञिकवर्गको प्रतिनिधित्व मात्र हुने छैन संघमा हालसम्म निराशाजनक रहेको यो समुदायको सहभागितालाई समेत थप उत्साहित बनाउने छ । फलतः ज्ञान, सिप र प्रविधि नेपालमा भित्र्याउने संघको महत्वपुर्ण योजनामा टेवा मिल्ने छ । विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने मित्रहरुलाई म पद र प्रतिष्ठाका लागि भन्दा संघलाई ठोस् योगदान दिने उद्देश्यले एनआरएनएमा सक्रिय हुदै आएको तथ्य अवगतै छ ।

त्यही विगतलाई साक्षी राखी यसपटक कार्यकारी पदमा बसेर संघलाई अझ बढी योगदान दिन सकिने विश्वाससहित महासचिव पदमा उम्मेदबार दिने निर्णय गरेको हुँ । संघ बलियो भयो भने मात्र मातृभूमीका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । यसका लागि निम्न सात निर्देशक सिद्दान्त (मन्त्र) लाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता गर्दछु ।

1) सबैको एनआरएनए (NRNA for all)

2) सबल र बहुआयामीक एनआरएनए (Strong and multidimensional NRNA)

3) स्मार्ट एनआरएनए (Smart NRNA)

4) परिणाममुखी एनआरएनए (Result-oriented NRNA)

5) दीगो एनआरएनए (Sustainable NRNA)

6) सिप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएन (NRNA for skill, knowledge and innovation) 7) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA) यी प्रतिबद्धतालाई कार्यान्वयन गर्न निम्न योजना र कार्यक्रमहरु अन्तर्राष्ट्रिय समन्वयन परिषदमा प्रस्तावित गर्नेछु ।

१) सबैको एनआरएनए (NRNA for all): अहिले संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध छन् । यसमा पनि महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता अत्यन्त न्यून छ । आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गरिनेछ ।

१.१) भिजन २०२० एण्ड बियोंडको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गरिनेछ। विभागको नेतृत्व ६ उपाध्यक्षहरुले गर्नेछन्। सम्वन्धित क्षेत्रमा दक्षता हाँसिल गरेको व्यक्ति नेतृत्वमा चुनिने सुनिश्चित हुने गरी विधानमा परिवर्तन गरिनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु आफ्नो दक्षता अनुसारको विभागको सदस्य रहनेछन् ।

हालका समितिहरुले यी विभागहरु अन्तरगत कार्य गर्नेछन्। विभागहरुको कार्यसम्पादन गर्न सचियवालयमा कर्मचारी छुट्याइनेछ ।

१.२) दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय समन्वय परिषद एनसिसिमा एउटा छुट्टै निकायको व्यवस्था गरिनेछ । नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्टर्र्निसप (internship) गर्न सक्ने व्यवस्था मिलाइनेछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन प्रेरित गरिनेछ ।

१.३) वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे एक श्वेतपत्र तयार गरिनेछ। यसका लागि यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।

प्रस्तावित ‘वैदेशिक रोजगार कोष’का लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर छुट्टाउन विधानमा व्यवस्था गरिनेछ ।

१.४) प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO) मार्फत थोरै आम्दानी हुने नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ।

१.५) संघको उद्देश्य र कार्यक्रमहरुबारे आम गैरआवासीय नेपालीहरुलाई सुसूचित गरिनेछ । यसका लागि सामाजिक सञ्जाल, विद्युतीय माध्यम, विभिन्न प्रशिक्षण सामग्री (डकुमेन्टरी, न्यूजलेटर आदि)को प्रयोग गर्नुका साथै विदेश स्थित नेपाली संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।

संघले अहिले सञ्चालन गरेको Membership Benefit कार्यक्रमलाई व्यापक बनाइनेछ । यसले गर्दा चुनावबाट प्ररित भएर मात्र सदस्य बन्ने प्रचलन कम हुनेछ ।

२) सबल र बहुआयामीक एनआरएनए (Strong and multidimensional NRNA): गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गरिनेछ ।

२.१) संघको काठमाडौँस्थित सचिवालयलाई अझ बढी व्यवस्थित गर्न कर्मचारीहरुको दक्षतालाई अभिवृद्धी गर्नुका साथै सचिवालयलाई प्रविधियुक्त बनाईनेछ । २.२) नेपाल सरकार, विदेशस्थित नेपाली कुटनितिक नियोग, नेपालस्थित वैदेशिक कुटनितिक नियोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग प्रभावकारी संवाद र सहकार्य गर्न एक संयन्त्र तयार गरिने छ ।

२.३) गैरआवासीय नेपालीहरुले आफू बसेको देशका स्थानीय समुदाय तथा सरकारसँग सहकार्य गर्न सकून् भन्ने हेतुले राष्ट्रिय समन्वय परिषदहरुको क्षमता अभिवृद्दी गरिनेछ ।

२.४) नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदाय बिच समन्वय गर्न पुलको रुपमा काम गरिनेछ । भुमण्डलीकरण (Globalisation) र जलवायु परिवर्तन (Global warning) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्दै आएका बिषयमा गैरआवासीय नेपाली र नेपालसँग सरोकार राख्ने विदेशी विज्ञहरु मार्फत सम्वन्धित अन्तर्राष्ट्रिय मञ्चमा आवाज पुराइने छ । २.५) एनसिसिहरुको स्वायत्ततालाई आत्मसात् गर्दै संघमा अनुशासन कायम गर्न विधि, विधान र नियमावलीलाई अक्षरस पालना गरिने छ ।

२.६) आइसिसि र योसँग आवद्द निकायहरु (एनसिसि, समिति, टाक्सफोर्स, क्षेत्रीय संयोजक आदि) बिच प्रवाभकारी संवाद र समन्वय गरिनेछ।

२.७) संघसँग आवद्द पदाधिकारीहरुलाई प्रशिक्षणको व्यवस्था गरिनेछ। ३) स्मार्ट एनआरएनए (Smart NRNA): गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाइनेछ।

३.१) संघका सम्पूर्ण गतिविधिलाई समावेश गरी एउटा ‘एनआरएनए एप्स’को निर्माण गरिनेछ।

३.२) संघका प्रत्येक सदस्यलाई ‘बारकोड’ सहितको एक डिजिटल परिचयपत्रको व्यवस्था गरिनेछ, ताकि हरेक सदस्यले परिचयपत्र आफु अनुकूल हुने डिभाइसमा डाउनलोड गर्न र उपयोग गर्न सकून् । यस्तोडिजिटल परिचयपत्रको व्यवस्थाले भौतिक परिचयपत्र छाप्ने र वितरण गर्ने लाखौं रुपैयाँको बचत मात्र हुने छैन, स्थायी सदस्यता नम्बर कायम गर्न सहज हुनेछ ।

३.३) संघका सम्पूर्ण सदस्यको इलेक्ट्रोनिक डाटाबेस तयार गरिनेछ । डाटावेसको माध्यमबाट ईलेक्ट्रोनिक प्रविधीलाई प्रयोग गरी संघ र पञ्जीकृत सदस्यहरु बिच सिधा संवादको व्यवस्था गरिनेछ ।

३.४) संघले हाल प्रयोग गर्दै आएको Management Information System (MIS) लाई सरल र सुरक्षित बनाइने छ । सदस्यहरुको व्यक्तिगत विवरण र कागजात एनसिसिको मातहतमा General Data Protection Regulation (GDPR)को पालना गर्दै सुरक्षित राखिनेछ । ३.५) आइसिसिका बैठक सञ्चालन, मिटिङ मिनटको रेकर्ड, मतदान, उपस्थितिको रेकर्ड राख्न एउटा छुट्टै ई-प्रोग्राम तयार गरिनेछ । ३.६) भविष्यमा अनलाइन भोटिङको व्यवस्था गर्न ब्लकचेन (blockchain), ईलेक्सन रनर (election runner) जस्ता भरपर्दा प्रविधि वा सेवाप्रदायकको प्रयोगबारे अध्ययन गरिनेछ।

३.७) संघसँग सम्वन्धित दस्ताबेजहरुलाई ईलेक्ट्रोनिक बनाई सहज उपलव्ध हुने व्यवस्था गरिनेछ। ३.८) एनसिसि तथा आइसिसिका पदाधिकारीहरुले कार्य सम्पादनगर्दा संघको आधिकारिक ईमेल प्रयोग गर्न निर्देशित गरिने छ।

४) परिणाममुखी एनआरएनए (Result-oriented NRNA): गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने छ। ४.१) संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गरिनेछ । आइसिसि र एनसिसिका गतिविधि यिनै कार्ययोजनामा केन्द्रित हुनेछन् ।

४.२) परियोजना छनोटसम्बन्धी नीति बनाई पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाइनेछ।

४.३) हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गरिने छ।

४.४) नेपालमा सञ्चालन गरिने ‘एक एनसिसि एक परियोजना’ जस्ता कार्यक्रममा एनसिसिहरु बिच सहकार्य गर्ने वातावरण तयार गरिनेछ। परियोजनाहरु नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा संचालन गरिनेछ।

४.५) संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गरिनेछ। ५) दीगो एनआरएनए (Sustainable NRNA): सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ।

५.१) भिजन-२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्न फाउण्डेसन सञ्चालनसम्बन्धी विनियम तयार गर्नुका साथै तत्तसम्बन्धि सचिवालयमा अलगै कर्माचारीको व्यवस्था गरिने छ । यस फाउण्डेसनमार्फत संसारभरि रहेका गैरआवासीय नेपालीले आफ्नो इच्छाअनुसारको रकम सहयोग गर्न सक्ने छन् । समाजकल्याणका सबै कार्यक्रमहरू यसै फाउण्डेसनमार्फत गरिनेछ।

५.२) गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने व्यवस्था गरिनेछ।

५.३) संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरु समक्ष (इलेक्ट्रोनिक डेटाबेस प्रयोग गरेर) आफ्नो उत्पादनको विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिइनेछ । यसका लागि सदस्यहरुबाट पुर्व स्विकृती लिइनेछ ।

५.४) कल्याणकारी र अध्ययन तथा अनुसन्धान परियोजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरुबाट आर्थिक सहयोग लिन विज्ञहरुको एक समिति गठन गरिनेछ ।

६) ज्ञान, सिप र नवप्रवर्धनका लागि एनआरएनए (NRNA for skill, knowledge and innovation): गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गरिनेछ।

६.१) अहिले सञ्चालनमा रहेका NRNA Academy, Nepal Policy Forum, NRN Science Foundation, Skill Knowledge and Innovation Committee, Nepal Library Foundation र प्राविधिक समितिबीच समन्वय गर्ने हेतुले यी सबै निकायहरुलाई एउटै विभाग अन्तर्गत ल्याइनेछ ।

६.२) पहिलो NRN Global Knowledge Convention ले सिफारिस गरेका सुझावहरुको कार्यान्यवन गराउन पहल गर्ने तथा यस्तो सम्मेलनको आयोजना २ वर्षमा एकपटक गर्नेगरी व्यवस्था मिलाइने छ। नेपाल सरकार, नेपाली विश्वविद्यालयहरु, अनुशन्धान केन्द्रहरु, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, र नेपालभित्र र बाहिर रहेका पेसागत संस्थाहरुसँग सहकार्य गर्दै यस सम्मेलनको क्षेत्रलाई अझ बढी फराकिलो बनाइनेछ । यस्ता सम्मेलनहरु नेपाल बाहिर बिभिन्न क्षेत्रमा समेत आयोजना गरिनेछ। सम्मेलनलाई ज्ञान, सिप र प्रविधिको आदान-प्रदान गर्ने थलोका रुपमा विकसित गरिनेछ। यस्ता कार्यक्रमहरु मार्फत नेपालमा ज्ञान र सिपमा आधारित अर्थतन्त्र (knowledge-based economy) को विकासको लागि गैरआवासीय नेपालीहरुलाई उत्प्रेरित गरिनेछ।

६.३) नेपाल सरकारको नीति तथा योजना निर्माणतहमा गैरआवासीय नेपालीहरुलाई प्रतिनिधित्त्व गराउन पैरवी (lobbying) गरिनेछ ।

६.४) नेपाल सरकारले सुरु गरेको Brain Gain Centre का लागि सहकार्य गरी बढी भन्दा बढी दक्ष र विज्ञ गैरआवासीय नेपालीको विवरण तयार गर्न सहयोग गरिनेछ । ७) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA): गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गरिने छ। संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने छ साथै आर्थिक पारदर्शिताका कायम गरिनेछ।

७.१) आम गैरआवासीय नेपाली र एनसिसिका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिनेछ। एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न विधुतिय माध्यमबाट ‘एनआरएनएसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार आदि) बारे पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिनेछ ।

७.२) पदाधिकारी गैरआवासीय नेपाली संघका सदस्यप्रति उत्तरदायी रहनुका साथै उच्चआचरण कायम राख्नुपर्ने व्यवस्था कडाईका साथ लागू गरिने छ । संघको गरिमा बिशुद्ध गैर-राजनीतिक सामाजिक संस्थाको रुपमा कायम राख्न वैधानिक व्यवस्था गरिनेछ । एनसिसि र आइसिसिका निर्वाचनलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाईने छ।

७.३) एनआरएनएका महत्वपूर्ण सूचना प्रवाह गर्न एकल आधिकारिक संयन्त्र प्रयोगमा ल्याईनेछ। संघलाई दीर्घकालिन असर गर्ने र अन्य महत्वपूर्ण निर्णयहरु गर्दा विधानसम्मत संघका पञ्जिकृत सदस्यहरु तथा एनसिसि र आइसिसिका कार्यकारी सदस्यहरुसँग परामर्श गरिनेछ।

७.४) गैरआवासीय नेपालीहरुका चासोको बिषयहरुमा संघले आधिकारीक धारणा बनाउने छ। यस्ता आधिकारीक धारणा बारे नेपाल सरकार र अन्य सम्वन्धित निकायहरुसँग प्रभावकारी संवाद गर्नका लागि संघले प्रतिनिधिहरुको छनोट गर्नेछ।

७.५) संघको अनुमातिक वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ । अन्तमा, यी प्रतिबद्धताहरू कार्यान्वयन गराउन आफ्नो अमूल्य मत दिइ महासचिव पदमा मेरो उम्मेदवारीलाई समर्थन र सहयोग गर्नु हुन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु ।

डा. हेम राज शर्मा

लिभरपुल, यूके १७ सेप्टेम्बर २०१९