अमेरिकाको चुनावी अभियान विनम्रताको अभाव र उम्मेदवारको स्वभावबीचका फरकका कारणले चर्चित बन्न पुगेको छ । संस्थापन विरोेधी रिपब्लिकन पक्षका उम्मेदवार धनाढ्य व्यापारी डोनाल्ड ट्रम्प आक्रामक देखिनुभयो भने राजनीतिज्ञ हिलारी क्लिन्टन डेमोक्र्याट पक्षको प्रतिनिधित्व गर्दै तुलनात्मकरुपमा ट्रम्पभन्दा शिष्टरुपमा प्रस्तुत भएको पाइयो । यो प्रतिस्पर्धामा उठाइएका विषयले अमेरिकी समाजमा लुकेका बेथितिलाई बाहिर ल्याउनुका साथै देशको विश्वव्यापी छविमा केही नराम्रो महशुस गरायो । चुनावी अभियान लामो समय चलिसक्यो र अब अन्त्य पनि भइसक्यो । सवाल अब कसले जित्छ र जित पछाडिको अमेरिकी नीति के हुन्छ भन्ने मात्र हो ।

सर्वेक्षणले पूर्वसिनेटर तथा विदेशमन्त्री क्लिन्टन विवादास्पद छविका ट्रम्पभन्दा अगाडि रहेको देखाउने गरेका छन्, तर सर्वेक्षण सर्वेक्षण मात्र हो, यसलाई यथार्थका रुपमा लिइहाल्नु हुँदैन । जुन महिनामा मात्रै बेलायतमा सम्पन्न जनमत सङ्ग्रहका नतिजाबारे गरिएको सर्वेक्षणको निष्कर्ष अनि कोलम्बियाली जनताले शान्ति सम्झौताको अनुमोदन अत्याधिक बहुमतले गर्ने भन्ने सर्वेक्षणका निष्कर्षलाई वास्तविकताले भने चकित पार्नेगरी उल्ट्याइदिएको अनुभव ताजै छ । यहाँ भन्न खोजिएको कुरा के हो भने क्लिन्टनको विजय सम्भाव्य छ तर निश्चित भने होइन । मतदानको नतिजा नआउन्जेल पर्खिनुको बिकल्प छैन ।

यद्यपि केही पूर्वानुमान भने सहजै गर्न सकिन्छ । यो चुनावपछि राष्ट्रपतिको रुपमा जो आएपनि संयुक्त राज्य अमेरिका विभाजित सरकार, विभाजित काङ्ग्रेससहित विभिन्न किसिमले विभाजित देशको रुपमा रहने छ । डेमोक्र्याट वा रिपब्लिकन दुवैले एक अर्काको सहयोग बिना अगाडि बढ्न नसकिने कुरा महसुस गर्नेछन् ।

अमेरिकी राजनीतिमा देखा परेको यो विभाजन रिपब्लिकन र डेमोक्र्याटबीचको सामान्य मतभेद अवश्य होइन । वास्तवमा यसले दुवै पार्टीका गहिराइमा अन्तर्निहित अतिवादी सोच (डेमोक्र्याटको बामपन्थ र रिपब्लिकनको दक्षिणपन्थतर्फ)लाई मलजल गरेर धु्रबिकरण गरेको छ । परिणामस्वरुप मध्यमार्ग अबलम्बन गर्न झन कठिन बन्न सक्छ ।

राष्ट्रपतिका रुपमा लामो कार्यकालको निरन्तरता पनि अब रहने सम्भावना न्यून बन्दैछ । क्लिन्टनले जितेमा रिपब्लिकनले उहाँको जित ट्रम्पका कमजोरीका कारण मात्र भएको र उहाँ एक कार्यकाललाई मात्र पदमा रहने कार्यकारी भएको निष्कर्ष निकाल्ने छन् । परिवर्तन खोजेको अमेरिकाले अण्डाकार कार्यालय (ओभल अफिस)मा डेमोक्र्याटलाई चौथो कार्यकाल दिने कल्पना गर्ने छैनन् भन्ने उनीहरुको ठहर हुनेछ । क्लिन्टनको बहिर्गमन चाहने धेरै रिपब्लिकनले उहाँलाई विभिन्न किसिमले असफल बनाउन उद्यत रहनेछन् ताकी २०२० को चुनावी प्रतिस्पर्धामा क्लिन्टनले सफल कार्यकारीको हैसियतले शिर ठाडो गरी प्रतिस्पर्धा गर्न गाह्रो होस् ।

यस्तै यदी ट्रम्पले जितेमा पनि हारमा किङ्कर्तव्य विमुढ भएका अधिकांश डेमोक्र्याटले ट्रम्पलाई दोस्रो कार्यकालको कल्पना पनि गर्न नदिने गरी असफल बनाउन भरमग्दुर प्रयासरत रहनेछन् । ट्रम्पका नीतिनिर्माताले अघिल्ला सरकारका जित कार्यक्रम लत्यायो त्यतिनै उहाँको प्रशासनलाई चुनौतिहरु थपिनेछन् ।

हरेक अवस्थामा केही मुख्य क्षेत्रमा भने प्रगति हुन सक्ने आशा राख्न सकिन्छ । दुवै प्रतिस्पर्धीले प्रतिवद्धता जनाएको हालसम्म ओझेलमा परेको अमेरिकी पूर्वाधारको आधुनिकिकरणसम्बन्धी बिधेयक पारित हुनेछन् । अमेरिकी कर नीतिका कर्पोरेशनको कर घटाउने र धनीलाई कर बढाउने भनिएको करसुधार कार्यक्रमको पनि अधिक स्वीकार्य व्यवस्थापन हुनेछ । विद्यमान व्यवस्थासँग मेल नखाने दफामा संशोधन सहित राष्ट्रपति बाराक ओबामाले अगाडि सारेका स्वास्थ्य हेरचाह नीतिले पनि निरन्तरता पाउने छ ।

तर कङ्ग्रेस र राष्ट्रपतिबीच समन्वय चाहिने खालका अन्य मुद्दाहरु भने छिटै सम्बोधन हुने सम्भावना देखिँदैन । यस्तैमध्येको एक हो आप्रवासीसम्बन्धी मुद्दा जुन यूरोपमा जस्तै अमेरिकामा पनि विवादास्पद छ । अर्कोे व्यापारसम्बन्धी विषय हो, घरेलु राजनैतिक माहोलले नीति निर्मातालाई एकअर्का विरुद्ध खनिएका प्रतिस्पर्धीको भावनाअनुसार जान बाध्य पार्नेछ, ट्रान्स प्यासिफिक साझेदारीसम्बन्धी सन्धीको अनुमोदनले अमेरिकी अर्थतन्त्र र आर्थिक रणनीतिलाई फाइदा पु¥यउने भएपनि दुवै प्रतिस्पर्धी क्लिन्टन र ट्रम्प यसको बिपक्षमा देखिएका छन् । यसैबीच खर्चगर्ने विशेषाधिकारको कटौति गर्ने कुनै इच्छा र प्रतिवद्धता दुवैबाट नदेखाइएको सन्दर्भमा अमेरिकाको घाटा र ऋण दुवै बढ्ने निश्चित छ ।

चुनावी परिणामले विदेशनीतिमा पार्ने प्रभाव भने फरक हुन सक्छन् किनकी वर्तमान् संविधानअनुसार राष्ट्रपतिले यस विषयमा धेरै अधिकार उपयोग गर्न सक्छन् । युद्धको घोषणा वा सन्धीको अनुमोदन कङ्ग्रेसको सहमतिमा मात्र गर्न सकिने भएतापनि सन्धी बाहेकका सम्झौता वा अन्य विस्तारसम्बन्धी योजना र कार्यक्रम जारी राख्न राष्ट्रपतिले हालै क्यूवामा ओबामाले पठाएजस्तो विशेष दूत पठाउने वा विशेष नीति अङ्गिकार गर्ने गर्न सक्छन् ।

क्लिन्टनको सन्दर्भमा, यो विजयले सिरियामा एउटा वा केही थप सुरक्षित क्षेत्रको स्थापना गर्नु, युक्रेनलाई थप प्रतिरक्षात्मक हतियार उपलब्ध गराउनु र आणविक कार्यक्रम अगाडि बढाइराखेको उत्तर कोरियाप्रति थप कडा रुप अपनाउने बनाउने छ भने ट्रम्पको मामिलामा भने यस्ता कुरा अनुमान गर्न कठिन छ । आखिर उहाँ राजनैतिक क्षेत्र बाहिरबाट आएका राजनीतिज्ञ हुनुहुन्छ यसर्थ उहाँका चुनाव अभियानका नाराहरु नीतिका रुपमा कस्ता बनेर आउँछन् सहजै भन्न सकिने अवस्था छैन । सम्भावना छ की ट्रम्प प्रशासन यूरोप र एसियाका आफ्ना परम्परागत मित्रहरुबाट टाढिने र मध्यपूर्वको मामिलामा पनि आफूलाई एक्लै पाउने हुन सक्छ ।

राष्ट्रपति निर्वाचन पछि अमेरिकामा के होला भन्ने विषय अझै अनुमानको विषय रहेको सन्दर्भमा के भन्न सकिन्छ भने परिणामले मतदानमा सहभागि नहुने ९६ प्रतिशत गैरअमेरिकी जनसमुदाय निर्वाचनमा सहभागि समुदायले जस्तै असर महसुस गर्नेछन् ।

(रिचार्ड एन ह्यास काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष हनुहुन्छ । राष्ट्रपति जर्ज डब्लु बुसका उत्तर आयरल्याण्ड हेर्ने विशेष दूतका रुपमा काम गरेका ह्यान्स अमेरिकी गृह मन्त्रालयका नीति तथा योजना विभागका निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।)