१५ चैत्र २०८०, बिहीबार
Follow Us

भ्रमण वर्षको आधिकारिक वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार १६:४६

काठमाडौँ-भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ ।

उक्त वेबसाइट तथा सामाजिक सञ्जालको आज यहाँ एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको प्रचारप्रसारमा यसबाट थप गुणात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भ्रमण वर्ष अभियानका गतिविधि द्रुत गतिमा अघि बढेको सन्दर्भमा भ्रमण वर्षसम्बन्धी सम्पूर्ण सूचना तथा जानकारीलाई सहजरुपमा ग्रहण गर्न वेबसाइट तथा सामाजिक सञ्जाल उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

त्यहाँ राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, चर्चित सेलीब्रेटी, आरोही, ख्यातिप्राप्त खेलाडी, प्रतिष्ठित व्यवसायी आदिको सन्देश समेटिने उहाँको भनाइ थियो ।

नेपालमा घुम्न कहाँ जाने, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा अध्ययन अनुसन्धानका हिसाबले कुन क्षेत्रमा जानेजस्ता सूचनालाई भ्रमण वर्षको साइटमा राखिनेछ ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष सरकार या कुनै अमुक व्यक्ति तथा राजनीतिक दलको मात्र नभई आम नेपालीको सरोकार भएको विषय हो भन्दै यसलाई सफल बनाउन साझा अभियानका रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नजिकिएको भ्रमण वर्ष अभियानलाई प्रभावकारीरुपमा प्रवद्र्धन गर्न वेबसाइट र सामाजिक सञ्जालले सहयोग पुग्ने धारणा राख्नुभयो ।

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन सचिवालय पूर्ण क्षमताका साथ लागिपरेको बताउनुभयो । वेबसाइटमा समाचार सन्देश मात्र नभई किन नेपाल भ्रमण गर्नुपर्छ भन्ने अन्तरवार्तासहितका सामग्री राखिनेछ । भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिका अध्यक्षसमेत रहनुभएका सचिव अधिकारीले देशभरका गन्तव्यबाट आएका भिडियोलाई छनोट गरी उत्कृष्टलाई पारिश्रमिकको व्यवस्थासमेत मिलाउन सचिवालयलाई निर्देशन दिनुभयो ।

भ्रमण वर्षका औपचारिक वेबसाइटमा www.visitnepal2020.com तथा भ्रमण वर्षको औपचारिक समाचार पोर्टल www.visitnepalnews.gov.np रहेका छन् ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिंकङइनका औपचारिक ह्याण्डल सार्वजनिक गरिएको छ । facebook-@nepallifexperiences, instagram-@visitnepalyear2020_official,twitter-@vny2020official,linkedin-@visitnepal2020-secretariat रहेको छ ।

नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटकीय गन्तब्यका रुपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख विदेशी पर्यटक भित्र्याउन, पर्यटक खर्च दर बढाउन, पर्यटकको बसाई लम्ब्याउन र थप सुखद बनाउन सहयोग गर्ने उद्देश्यले भ्रमण वर्ष अभियानअन्तर्गत विभिन्न कार्यक्रम अघि बढाइएको भ्रमण वर्ष सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

भ्रमण वर्षले सन् २०२० मा हाल १२ दिनको पर्यटकको बसाई अवधिलाई लम्ब्याएर १५ दिन पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिइएको छ । कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत पु¥याउने तथा विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान आठ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।