६ चैत्र २०८०, मंगलवार
Follow Us

अविरल वर्षाले नेपालगञ्ज डुबानमा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार १७:१०


बाँके-आज बिहानैदेखि परेको अविरल वर्षाले नेपालगञ्ज डुबानमा परेको छ । यहाँको न्यूरोड र घरबारी टोल क्षेत्रका अधिकांश पसलमा पानी छिरेको छ । नेपालगञ्जको सेतु विक चोक र न्यूरोड क्षेत्रका अधिकांश पसलमा पानी पसेको न्यूरोडका स्थानीय व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करीब आधा दर्जन बढी पसल डुबेका छन् । पानीको सहज निकास नहुँदा घरबारी टोलका ११ वटा घर तथा पसल डुबेका छन् । सडकमा पानी जम्मा हुँदा आवतजावत गर्नसमेत समस्या भएको छ ।

न्यूरोडमै व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले डुबान समस्याले न्यूरोड क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्दै गएको बताए । नेपालगञ्जका अन्य वडा तथा टोलका केही घर तथा पसल पनि डुबेका छन् । कारकाँदोमा रहेको प्रहरीको अस्पताल र कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा पानी पसेपछि आवागमन र कामकाजमा समस्या भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका केही भवनसमेत डुबानमा परेका छन् । जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन् । खजुरा गाउँपालिका–७ मा आधा दर्जन बढी घर डुबेका छन् । त्यहाँ उद्धारका लागि प्रहरी परिचालित भएको छ ।

सतर्कता अपनाउन आग्रह

जिल्ला दैवी प्रकोप उद्धार समितिले आज बिहानैदेखि परिरहेको अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भइरहेको जानकारी दिँदै निरन्तर वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरे ।

नेपालगञ्ज क्षेत्रमा वर्षा भए पनि जिल्लाको पूर्वी क्षेत्र र दाङ तथा प्यूठानमा ठूलो वर्षा नभएकाले राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ । प्रहरी उपरीक्षक वलीले बाढी र डुबानबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । उनले नेपालगञ्ज, खजुरा क्षेत्र डुबानमा परे पनि राप्दी नदीमा भने पानीको सतह अहिलेसम्म नबढेको बताए ।

नेपालगञ्जलाई डुबानमुक्त बनाउन अधिकांश सडक र नाली निर्माण गरिए पनि समस्या भने कायमै रहेको छ । सामान्य वर्षाद्ले पनि नेपालगञ्जको मुख्य बजार क्षेत्र न्यूरोड, घरबारीटोल, गणेशपुर, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभए पनि जनजीवन प्रभावित भएको बताए ।