६ चैत्र २०८०, मंगलवार
Follow Us

सङ्घीयता सिकाइका क्रममा रहेको पर्यटनमन्त्रीको भनाई

sarusaru
२ आश्विन २०७६, बिहीबार ०२:४२

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालका लागि सङ्घीयता नयाँ विषय भएकाले सरकार त्यसको अभ्यास सिक्ने क्रममा रहेको बताएका छन्।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले संविधान दिवसका अवसरमा बुधबार आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा उनले सङ्घीयता सिक्ने क्रममा कुनै गल्ती भइहालेमा त्यसलाई सच्चाएर अघि बढ्नुपर्ने बताए। देशमा अहिले समस्याको चाङ भए पनि तिनलाई समाधान गर्दै अघि बढ्नाको विकल्प नभएको उनले औँल्याए।

बेथिति र ढिलासुस्ती हटिनसकेकाले जनताले प्रश्न गर्नु स्वाभाविक भएको उनले बताए। लोकतन्त्र र गणतन्त्रको विकल्प नै नभएको उनको भनाइ थियो । उनले भने, “लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प त्यो अझै सुदृढ बनाउनु नै हो ।”

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नाचघरका आर्थिक समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए। संस्थानका निमित्त महानिर्देशक प्रभाकर शर्माले संस्थानले अहिले यसको उद्देश्यसँग मेल खाने कार्यक्रम न्यूनतम शुल्क लिएर सञ्चालन गर्न प्रेक्षालय उपलब्ध गराइरहेको जानकारी दिए।

संस्थानले दुई अग्रज गायक प्रेमध्वज प्रधान र ज्ञानु राणालाई रु दश दश हजारसहित सम्मान गर्यो । कार्यक्रममा निमित्त महाप्रबन्धक शर्मासँगै संस्थानका अरु कलाकारले संविधान र नेपाल भ्रमण वर्षसँग सम्बन्धित तथा अन्य जातीय नृत्य प्रस्तुत गरेका थिए ।

रासस