१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘लोकतन्त्रमाथि खतरा आए सरकार एक्सनमा’

sarusaru
२ आश्विन २०७६, बिहीबार ०३:१६

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि खतरा देखिए सरकार ‘एक्सन’ मा उत्रिने बताएका छन् । सिंहदरबार परिसरमा बन्ने संघीय संसद् भवनको बुधबार शिलान्यासपछि उनले भने, ‘प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए सरकारले सहँदैन ।’ 

 

संविधानअनुसार जनताको बलिदान खेर जान नदिने उनले बताए । लोकतन्त्रको विकासका लागि नियन्त्रणकारी भूमिका खेल्न परे पनि सरकार पछि नहट्ने उनको भनाइ थियो । ‘जबसम्म बघिनीले आफ्नो डमरुमाथि खतरा आएको देख्दिनँ, ऊ चुप लाग्छे, खतरा देखी भने झम्टिन्छे,’ उनले उदाहरण दिँदै भने । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले संविधानमा टेकेर एक्सन लिने उनले बताए । ‘लोकतन्त्रमाथि खतरा आएमा नियन्त्रणकारी भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘लोकतान्त्रिक प्रणाली मात्र होइन, प्रक्रियामाथि पनि ख्याल गर्नुपर्छ ।’ लोकतान्त्रिक प्रणाली मात्र नभई प्रक्रिया पनि भएको उल्लेख गर्दै उनले मुलुकलाई हिंसामा लैजान खोज्नु वितण्डा मात्र भएको बताए । अब बहकिएर मात्र काम नहुने भन्दै उनले सुशासन र विकासको अभियान चलाउनुपर्ने भनाइ राखे । सरकार भ्रष्टाचारविरोधी अभियानमा लागिरहने प्रतिबद्धता पनि उनले जनाए ।

भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्ने भन्दै उनले केही मानिस जसरी पनि प्रक्रिया भत्काउने काममा लागेको दाबी गरे । माओवादी चन्द समूहप्रति लक्षित गर्दै उनले हिंसाको बाटो अपनाउनु वितण्डाबाहेक केही नहुने बताए ।
कान्तिपुर