१३ बैशाख २०८१, बिहीबार
Follow Us

दशैँलाई असोज १० देखि यहाँबाट नयाँ नोट साट्नुहोस्

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार १६:५२

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । तर यो वर्ष सटही सीमा घटेको छ ।
राष्ट्र बैंकले यो वर्ष रु ५, रु१०, रु२०, रु५० र रु १०० का एक–एक पाटेक गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँ मात्र नयाँ नोट उपलब्ध गराउने जनाएको छ । विगतका वर्षहरुमा बैंकले रु ५,रु१० र रु२० का दुई–दुई पाकेट नयाँ नोट उपलब्ध गराउने गरेकोमा यसवर्ष सीमा घटाएको हो ।
हाल तोकिएको भन्दा बढी रकम आवश्यक परेमा नयाँ नोट नभई सुकिला नोट सटही सुविधा दिने बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा असोज १७ गतेसम्म उपलब्ध हुनेछ ।
नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारसहित विराटनगर, जनकपुर वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट वितरण हुने नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेडका उपत्यकाका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गरिने छ ।