६ चैत्र २०८०, मंगलवार
Follow Us

यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. कोइरालालाई

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १३:२१
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाले संविधान निर्माणमा पु¥याउनुभएको योगदान अतुलनीय रहेको धारण व्यक्त गर्नुभएको छ । यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक पूर्वप्रधानमन्त्री स्व कोइरालालाई मरणोपरान्त प्रदान गर्नुहुदै राष्ट्रपति भण्डारीले स्व.कोइराला सरल, सहज, सादगी र पारदर्शी नेता हुनुहुन्थ्यो भन्नुभयो । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले संविधान निर्माणमा स्व कोइरालाको सहमति, सहकार्य र एकताको भावना स्मरणीय रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले असहज परिस्थितिमा समेत सबै शक्तिलाई मिलाएर विचलित नभई एकताको भावनालाई आत्मसात गरी ऐक्यबद्धताका आधारमा संविधान निर्माण गर्नुले सम्पूर्ण नेपालीमा एकताको सञ्चार गराउन स्व कोइराला इतिहासमा सफल नेता हुनुभएको धारणा व्यक्त गर्नुभयो । वर्तमान संविधान निर्माण गर्न नेपालमा दुईपटक संविधानसभाको निर्वाचन भएको थियो । पाँच वर्ष आठ महीनामा तयार भएको संविधान निर्माणमा ३० राजनीतिक दल सहभागी थिए । पछिल्लोपटक सम्पन्न संविधानसभा निर्वाचनबाट प्रधानमन्त्री रहनुभएका स्व कोइरालाको नेतृत्वमा विसं २०७२ असोज ३ गते मुलुकले नेपालको संविधान पाएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित नेपालको संविधान समावेशी र विश्वमा नै नमूना रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले संविधान अनुरूप काम गर्न नसकेको बताउँदै सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थालेको आरोप लगाउनुभयो । सरकारबाट संविधानको भावना विपरीत आएको मिडिया काउन्सिल र मानवअधिकार विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सभापति देउवाले बताउनुभयो । संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले संविधान अपरिवर्तनीय दस्तावेज नभएको तर जनआन्दोलनको जगमा उभिएर बनेकोले परिवर्तनका लागि जनताको भावना जित्नुपर्ने बताउनुभयो । उहाँले संविधानको मुख्य स्रोत नेपाली जनता भएकाले जनताको इच्छा र चाहना अनुरूप संविधान परिवर्तन गर्न सकिने दस्तावेज भएको धारणा राख्नुभयो । वर्तमान संविधान मस्यौदा समितिका संयोजक तथा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा सरकार फितलो बन्दै गएको बताउनुभयो । उहाँले प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गरी सरकार एकलौटी ढङ्गले अघि बढेको हँुदा संविधान कार्यान्वयनमा जटिलता पैदा भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवं सांसद भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा पूर्वप्रधानमन्त्री स्व. कोइरालाले अनुकरणीय योगदान पु-याउनुभएकाले उहाँलाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक मरणोपरान्त प्रदान गरिएको बताउनुभयो ।