७ बैशाख २०८१, शुक्रबार
Follow Us

४१ विमानस्थल घाटामा

sarusaru
४ आश्विन २०७६, शनिबार ०७:४२

काठमाडौँ — हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर डेढ खर्ब हाराहारी लगानी गरेर स्थापना गरेको उड्डयन क्षेत्रअन्तर्गतका ४९ वटा विमानस्थलमध्ये ४१ वटा घाटामा छन् । १६ वटा विमानस्थल यात्रु र जहाजको अभावमा बन्द छन् भने नाफामा ८ वटा मात्रै देखिएका छन् । 

 


नागरिक उड्डयन प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७५/७६ मा ८ वटा विमानस्थल मात्रै नाफामा देखिएका छन् । ‘विमानस्थलको आम्दानी र प्राधिकरणले बेहोर्ने सञ्चालन खर्चका आधारमा गत वर्ष ४१ वटा विमानस्थल घाटामा गए,’ प्राधिकरणको अर्थ विभाग निर्देशक गोविन्द दाहालले भने, ‘सञ्चालन खर्च तथा आम्दानीका आधारलाई मापदण्ड बनाउँदा ८ वटा विमानस्थल मात्रै नाफामा छन् ।’

प्राधिकरणका अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १९ मा स्वीकृत गरेको ०७६/७७ को नीति, बजेट तथा कार्यक्रमअनुसार नाफामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा, भरतपुर र धनगढी विमानस्थल छन् । त्यस्तै अत्यधिक पर्यटक आउजाउ गर्ने पोखरा, लुक्ला, जोमसोम र सिमिकोट विमानस्थल पनि नाफामा छन् ।

गत वर्ष सर्वाधिक ८ अर्ब ११ करोड आम्दानी काठमाडौं विमानस्थलले गरेको छ । पोखराले ९ करोड ३९ लाख, विराटनगरले ८ करोड ८० लाख, भैरहवाले ७ करोड ६७ लाख, नेपालगन्जले ७ करोड ५७ लाख, धनगढीले २ करोड ७६ लाख, भरतपुरले २ करोड ३० लाख, लुक्लाले २ करोड, सिमराले १ करोड ८३ लाख र सिमिकोट विमानस्थलले १ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

विमानस्थलहरूको मुख्य आयस्रोतमा जहाज उडानमा उपलब्ध गराउने सञ्चार तथा उड्डयन सहायक सेवा, अवतरण, पार्किङ, भूमि प्रबन्ध, गृहलगायतका कम्तीमा पनि दुई दर्जन हाराहारी सेवाबाट शुल्क, भाडा, दस्तुर रोयल्टीलगायत पर्छन् । हाल बन्द रहेका विमानस्थलमा दार्चुला, बैतडी, बझाङ, ढोरपाटन, डोटी, जिरी, कांगेलडाँडा, लाङटाङ, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा), पालुङ, रोल्पा, मेघौली, स्याङबोचे र टीकापुर विमानस्थल छन् । प्राधिकरणले हाल ६ वटा आन्तरिक विमानस्थल अर्घाखाँची, गुल्मी, इलाम, कालीकोट, कमलबजार र खिजिचण्डेश्वरी तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमध्ये पोखरा र गौतमबुद्ध–भैरहवा निर्माण भइरहेका छन् भने निजगढ निर्माण हुने प्रक्रियामा छ ।

सञ्चालनमा रहेका ४९ मध्ये ३२ वटा कालोपत्रे धावनमार्ग भएका विमानस्थल हुन् । ४० वर्षपछि बैतडी, बझाङ, डोल्पा मसिनेचौर, डोटी, कालीकोट र लामीडाँडा विमानस्थल कालोपत्रे हुँदै छन् । हाल चालु अवस्थामा रहेका ४९ मध्ये ४१ वटा विमानस्थलमा रात्रि उडान सुविधा छैन । रात्रि उडान गर्न सकिनेमा काठमाडौंबाहेक विराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगन्ज र सिमरा मात्रै हुन् ।

प्राधिकरणले एक वर्षअघि परामर्शदातामार्फत गराएको सम्पत्ति मूल्यांकन प्रतिवेदनअनुसार देशभरका सबै विमानस्थल, पूर्वाधार, भवन र धावनमार्गलगायतमा सरकारको लगानी कम्तीमा १ खर्ब ३७ अर्ब ६४ करोड पुगेको छ । यी सबै विमानस्थलको तालुक निकाय प्राधिकरणको मासिक आम्दानी ६० करोड हाराहारी छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालका अनुसार चालु वर्ष प्राधिकरणले ४६ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको एरोनटिकल र ननएरोनटिकल आय प्रक्षेपित गरेको छ । गत वर्ष प्राधिकरणले ७ अर्ब १५ करोड आम्दानी गरेको थियो । प्राधिकरणको कुल बजेट ४६ अर्बमा २९ अर्ब प्राधिकरणको स्रोत रहेको छ भने बाँकी १७ अर्ब नेपाल सरकारले उपलब्ध गराउने सेयर, ऋण र अनुदानको हिस्सा छ।
कान्तिपुर