१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकै अग्लो भवन बुर्ज खलिफामा फहरायो नेपालको राष्ट्रिय झण्डा

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७६, शनिबार १९:३०

अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो । यो ऐतिहासिक दृष्य अवलोकन गर्न बुर्ज खलिफा भवन वरिपरि शुक्रबार धेरै नेपालीहरुको भिड लागेको थियो ।

बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा सयौंको संख्यामा उपस्थित नेपालीहरुले ‘नेपाल’ भन्दै ताली बजाएर खुसियाली मनाए । शुक्रबार यहाँ सार्वजनिक विदा पनि भएकाले धेरै नेपालीहरु बुर्ज खलिफामा गएर आफ्नो देशको झण्डा पहराएको दृष्य प्रत्यक्ष अवलोकन गरे । उनीहरुले नेपालीको समेत श्रमले बनेको उक्त भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र यहाँको सरकारप्रति आभार प्रकट गरेका छन् ।

झापा घर भई हाल युएईमा कार्यरत डिजी गौतमले भने, ‘यो देश बनाउन नेपालीको पनि ठूलो योगदान छ । सायद त्यसैको गुन आज युएईले थोरै भए पनि चुक्ता गरेको छ । अब हामीले पनि सगरमाथाको शिरमा युएईको झण्डा फहराएर गुन तिर्नुपर्छ ।’ बुर्ज खलिफामा नेपालीसँगै अन्य देशका नागरिकले समेत उक्त दृश्यको अवलोकन गरेका थिए । यस्तै युएईको राजधानी अबुधावीमा रहेको एडनक हेडक्वाटर भवनमा पनि नेपालको झन्डा प्रदर्शन गरिएको छ । आफूले जिम्मेवारी लिएदेखि राजदूत कृष्णप्रसाद ढकालले यहाँको सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेका थिए । 

 

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार दूतावास कार्यालयमा यहाँ रहेका विभिन्न राजनीतिक दल संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा दिवस मनाइएको छ । दूतावासले आउँदो आइतबार बोब अल क्युसार होटेलको सभा हलमा १ सय २० भन्दा धेरै देशका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गर्ने दूतावासकी सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले जानकारी दिइन् । शुक्रबार यहाँको स्थानीय विदा भएकाले आइतबार कार्यक्रम आयोजना गरिएको अधिकारीले बताइन् ।