१२ बैशाख २०८१, बुधबार
Follow Us

चाडपर्वमा सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन

sarusaru
५ आश्विन २०७६, आईतवार ०५:५५

काठमाडौं : राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिले चाडपर्वमा सीमा क्षेत्रमा हुने आपराधिक क्रियापकलाप रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। चाडपर्व मान्न भारतबाट फर्कने नेपाली कामदारले सीमामा बर्सेनि लुटिनु परेको भन्दै समितिले गृहलाई यस्तो निर्देशन दिएको हो।

भारतसँग जोडिएका २३ जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन दिइएको समिति सभापति तारादेवी भट्टले जानकारी दिइन्। उक्त निर्देशनमा २३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत निर्देशन दिइएको उनले बताइन्।

‘सीमा क्षेत्रमा भारतबाट चाडपर्व मान्न आउने कामदार लुटिन्छन्’, समिति सदस्य दीनानाथ शर्माले भने, ‘भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले अनावश्यक दुःख दिन्छन्। यसका लागि सीडीओलाई भनेर बैठक गर्न लगाएर सहज बनाउनुपर्छ।’

यस्तै, चार्डपर्व नजिकिँदै गर्दा बजारमा हुने कालाबजारी, यातायात क्षेत्रमा हुने अनियमितता तथा खाद्यान्नको कृतिम अभाव देखाउने सम्भावना हुने भन्दै समितिले अध्ययन गर्ने भएको छ। यातायात, बजार तथा खाद्यान्नको अनुगमन गर्न तीनवटा उपसमिति बनाइएको छ।

समितिले खेमकुमार विकको संयोजकत्वमा तीन सदस्यीय यातायात क्षेत्र र हवाई क्षेत्रको अनुगमन गर्न उपसमिति गठन भएको छ। यसले यातायात क्षेत्रमा अनावश्यक भाडा बढाउने, क्षमताभन्दा यात्रु बोक्नेलगायत समस्याको अध्ययन गर्नेछ। ‘दशैंमा यातायात क्षेत्रमा हदैसम्मको भाडा उठाएर दुःख दिने गरिन्छ। यसको पनि अनुगमन गर्न जरुरी छ’, समिति सदस्य भौरवसुन्दर श्रेष्ठले भने।

हवाई क्षेत्रमा पनि चाडपर्वमा अनावश्यक भाडा बढाउने गरेका कारण उपसमितिले सम्बन्धित मन्त्रालयसँग छलफल गर्नेछ। ‘अरू बेला ४÷५ हजार भाडा भएको ठाउँमा हवाईबाट जाँदा अहिले ११ हजारसम्म लिन्छन्’, सांसद श्रेष्ठले भने, ‘यसलाई रोक्न के गर्न सकिन्छ ? उपसमितिले छलफल गरेर अघि बढोस्।’

कालीबहादुर मल्लको संयोजकत्वमा तीन सदस्यीय खाद्यान्न आपूर्ति अनुगमन गर्न उसमिति बनेको छ। यो समितिले दुर्गम क्षेत्रमा चाडपर्वमा खाद्यान्न अपुग भएको विषयमा अध्ययन गर्ने र आवश्यक निर्देशन दिने बताइएको छ। चाडपर्वमा दुर्गम क्षेत्रमा खाद्यान्न नपुग्ने गरेको गुनासोसमेत आउन थालेको समितिले जनाएको छ।

यस्तै, डा.विमला राई पौड्यालको संयोजकत्वमा तीन सदस्यीय बजार अनुगमन समिति बनेको छ। यसले चाडपर्वमा आउने अखाद्य वस्तुको विषयमा अनुगमन गर्ने छ। उपसमितिले चाडपर्वमा खाद्यान्नमा हुने मूल्य वृद्धिबारे पनि अनुगमन गर्ने छ।

तर, समितिकै सदस्यहरूले चाडपर्व नजिकिएसँगै बनाइएको उपसमितिले प्रभावकारी काम गर्नेमा भने शंका जनाएका छन्। जब पर्व नजिकियो तब अनुगमन समिति बनाउँदा नाम मात्रको अनुगमन हुने हो कि भन्नेमा उनीहरू चिन्ता थियो। ‘चाडपर्व आउने बेलामा मात्र अनुगमन गर्ने परिपाटीले औपचारिकता मात्रजस्तै हुन्छ’, सांसद महेशकुमार महराले भने, ‘औपचारिकतामा मात्रै सीमित नगरौं। काम पनि गर्नसक्नुपर्छ।’

दशैँ नजिकिँदा समिति बन्दा अनुगमन गर्न समस्या हुने यातायात क्षेत्रको अनुगमनका लागि बनेको उपसमितिका संयोजक विक बताउँछन्। ‘हामी पार्टीको जिम्मेवारीमा पनि छौं। जिल्लामा पनि कार्यक्रम हुन्छ’, उनले भने, ‘१० गतेपछि त हामीलाई काठमाडौं बस्नै गाह्रो हुन्छ। अनुगमनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ।’

अन्नपूर्ण पोष्ट