८ बैशाख २०८१, शनिबार
Follow Us

उच्छृङ्खल गतिविधिको प्रतिवाद हुन्छ : प्रचण्ड

sarusaru
५ आश्विन २०७६, आईतवार ०५:५१

सुनसरी : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजक र उच्छृङ्खल गतिविधिको प्रतिवाद गर्ने बताएका छन्। 

थारु समुदायको जितिया पर्वमा सहभागी हुन आइतबार सुनसरी पुगेका प्रचण्डले ‘सरकार र दलहरूबीच अराजक र उच्छृङ्खल गतिविधिको प्रतिवाद गर्ने कुरामा संसद्‍मा भएका राजनीतिक दलहरूबीच समझदारी भएको’ बताएका हुन्।

पछिल्लो समय ठाउँ ठाउँमा अराजक गतिविधिहरू बढेकोप्रति सरकार, पार्टी र संसदमा रहेका सबै दलहरू सचेत रहेको उनले बताए। ‘अस्ति भर्खर सत्तापक्ष र प्रतिपक्षीको बैठकमा यो प्रवृत्तिप्रति सचेत रहन अपील गरिएको छ। त्यसबाट …(समझदारी)… प्रष्टै हुन्छ’, प्रचण्डले भने।

‘परिवर्तनमाथि खतरा’

तर अहिले नै परिवर्तनमाथि खतरा नआएको प्रचण्डको भनाई छ। ‘अहिले नै यो परिवर्तन र सिस्टममाथि खतरा आयो भन्ने सत्य होइन’, प्रचण्डले भने, ‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो। यसको प्रतिवाद सबै राजनीतिक दलहरूले र सरकारले पनि गर्नुपर्छ भन्ने कुरामा संसदमा सहभागी राजनीतिक दलहरूबीच सझदारी भएको छ।’  

‘तपाईँले प्रतिवाद भन्नुभयो। तपाईँका कार्यकर्ताले निषेध नै गर्लान् नि फेरि ?’ पत्रकारको प्रश्नमा प्रचण्डले भने- ‘भौतिक प्रतिकारको अर्थमा मैले भनेको होइन। राजनीतिक र वैचारिक रुपमा यस्तो प्रवृतिलाई परास्त गर्ने भनेको हो।’

भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहको दाबी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताए।

सरकारको समीक्षा

प्रचण्डले आफूहरू पनि सरकारका कामबाट सन्तुष्ट नरहेको बताए। ‘हामी आफैं पनि सन्तुष्ट छैनौँ। तर केही पनि नगरेको भन्ने कुरा सत्य होइन’, उनले भने, ‘सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं। यसलाई नयाँ शीराबाट गति दिनेबारे छलफल भइरहेको छ।’

संविधानमा तोकिएका मौलिक हकसम्बन्धी कानुन बनेका, छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुध्रिएको तथा भारतसँग पेट्रोलियम पाइपलाइन जोडिएको लगायत विकल्प उनले सुनाए।

‘थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सधार आयो। भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो। चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन्।’

‘सरकारको गियर चेन्ज कहिले गर्नुहुन्छ ?’ पत्रकारको प्रश्नमा प्रचण्ड पन्छिए।

केही अघिसम्म सरकारका काम प्रभावकारी बनाउन ‘गियर चेन्ज’ गर्ने बताउने गरेका प्रचण्डले यसबरे आफूलाई नसोध्न भने।

‘यो मन्त्रिमण्डलबारे मलाई केही नसोध्नुस्। यसले मलाई हैरान पारेको छ’, उनले भने, ‘प्रधानमन्त्रीले चाहेको बेला पुनर्गठन हुन्छ। नत्र हुन्न। यो प्रधानमन्त्रीको क्षेत्रभित्रको विषय हो।’  

अन्नपूर्ण पोष्ट