७ बैशाख २०८१, शुक्रबार
Follow Us

नातिलाई उत्तराधिकारी घोषणा गर्न पूर्वराजा सिंगापुरतिर

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार १४:०१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षभित्रै आफ्ना नाति हृदयेन्द्र शाहलाई राजगद्दीको उत्तराधिकारी घोषणा विदेश भ्रमणमा निस्केका छन् । उनी बुधबार सिंगापुर लागेका छन् ।
पूर्वराजा शाहको साथमा उनका निजी सचिव सागर तिमल्सिना पनि सँगै गएका छन् । सिंगापुरमा केही दिनको बसाइँपछि शाह भारत जाने बताइएको छ । केही समयअघि शाहका स्वकीय सचिव तिमल्सिना भारत गएर भेटघाट र अरु कार्यक्रम तय गरेका थिए । सिंगापुरबाट पूर्वराजा शाह बुहारी हिमानी शाहसँगै भारत जाने बताइएको छ । हिमानी भने केही दिनअघि नै सिंगापुर गइसकेकी छन् ।
समाचारस्रोतका अनुसार भारतका एक दर्जन ज्योतिषीहरूले संयुक्त बैठक बसेर दिएको सल्लाहबमोजिम पूर्वराजा शाहले नाति हृदयेन्द्रलाई आफ्नो उत्तराधिकारी घोषणा गर्न लागिएको छ। ज्ञानेन्द्रका उत्तराधिकारीका रूपमा हाल उनका छोरा पारस शाह क्रियाशील छन् । छोरा हुँदाहुँदै नातिलाई उत्तराधिकारी घोषणा गर्ने राजपरम्परा छैन । तर १८ वर्ष उमेर नपुगेका नातिलाई उत्तराधिकारी घोषणा गर्ने तयारी गरिनुको रहस्य बुझ्न नसकिएको समाचार स्रोतले जनाएको छ ।
यता, हिन्दु अतिवादीहरूले हृदयेन्द्रलाई उत्तराधिकारी घोषणा गरे मात्रै राजतन्त्र पुनर्बहालीको आन्दोलनले गति लिन सक्ने सल्लाह दिएकाले पूर्वराजा शाह उक्त निचोडमा पुगेको बताइन्छ । हिमानी शाहलाई संरक्षक बनाएर बेबी किङको अवधारणा ल्याउन गणतन्त्र आउनुभन्दा अघि नै भारतीय हिन्दुवादीहरूले सल्लाह दिएको, तर त्यो सल्लाह पूर्वराजा ज्ञानेन्द्रले स्वीकार नगरेको समाचार त्यतिबेला नै आएको थियो ।