१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस जागरण अभियान : कुन नेताले के भने ?

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७६, मंगलवार १०:४४

 नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन सकेमा पार्टीभित्र देखिने गुटबन्दीको अन्त्य हुने दाबी गर्नुभयो ।

उहाँले पार्टीको जागरण अभियानलाई आफ्नो गाउँ ठाउँमा आगामी दिनमा पनि चलाउन निर्देशन दिनुभयो । जनताका अधिकारका लागि देशमा भएका हरेक राजनीतिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उहाँले जनअधिकार, विकास र समृद्धिका लागि पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानको भावनाविपरीत सरकारले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबारमा सीमित राखेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सङ्घीय प्रणालीको राज्य व्यवस्था छ, तर अहिलेको सरकार यो व्यवस्थामा विश्वास गर्दैन ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा उसभापति निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै पार्टीको सदस्यता वितरण गर्नुभएको थियो । यसअघि स्थानीय ट्राफिक चोकबाट विभिन्न नाराका साथ शुरु भएको विरोध -याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।

काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकारले संविधानको भावना र मर्मविपरीत विधेयक ल्याएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँको आयोजनामा आज पार्टीले शुरु गरेको हिमाल, पहाड, तराई–मधेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन तथा ‘विरोधसभा’मा उहाँले गुठी विधेयक, मानव अधिकार विधेयक, आमसञ्चार विधेयकलगायत संविधानको भावना र मर्ममा ल्याइएको बताउनुभयो । “सरकार जनताको भावनालाई सम्बोधन गर्नेभन्दा पनि विवाद सिर्जना गर्ने काममा लागिरहेको छ”, उहाँले भन्नुभयो ।

सरकारले ३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, बालुवाटार काण्ड, निर्मला काण्डका दोषीलाई कारवाही गर्न नसकेको उहाँको भनाइ थियो । पूर्वउपप्रधानमन्त्री श्रेष्ठले सरकारको ज्यादती र अन्यायका विरुद्ध नेपाली काङ्ग्रेसले सडकदेखि सदनसम्म आन्दोलन गर्ने बताउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कानूनविपरीत गतिविधिमा वर्तमान सरकार लागेको बताउनुभयो ।

“काङ्ग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधान जोगाउनका लागि आन्दोलन गर्नुपरेको हो”, उहाँले भन्नुभयो । काङ्ग्रेस काठमाडौँका पूर्वसभापति एवं सांसद भीमसेनदास प्रधानले जनतालाई भ्रम सिर्जना गरेर सरकारमा पुगेका कम्युनिष्टले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । पार्टीले जागरण अभियान सञ्चालन गर्दा कार्यकर्ताभन्दा पनि नेताहरुमा चलाउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । काठमाडौँ काङ्ग्रेसका सभापति सबुज बानियाले संविधानको उपलब्धिलाई संस्थागत गर्न आन्दोलन गरिएको बताउनुभयो । जागरण अभियानसँगै पार्टीलाई ऊर्जा मिलेको उहाँको भनाइ थियो । प्रदेशसभा सदस्य राधा घलेले वर्तमान सरकारले गरेका कामकारवाही हेर्दा सरकारविरुद्ध उत्रनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज : नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यताबाट भड्किँदै गएको बताउनुभएको छ । बाँके काङ्ग्रेसले आज नेपालगञ्जमा गरेको जनजागरण अभियान समापनका अवसरमा उहाँले मुलुकको लोकतान्त्रिक पद्धतिमाथि कहीँ कतैबाट आक्रमण हुन्छ भने काङ्ग्रेसका कार्यकर्ताले ज्यानको आहुति दिएर पनि त्यसलाई जोगाउने छन् भन्नुभयो ।

बाँके काङ्ग्रेसका सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्वजिल्ला सभापति युवराज शर्मा, विद्यार्थी नेता पूर्ण आचार्य, तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुदीप नरसिंह राणालगायतले बोल्नुभएको थियो । यसअघि नेपालगञ्जको सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । गाउँगाउँबाट आएका काङ्ग्रेस कार्यकर्ताले नाराबाजी गर्दै प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।