८ बैशाख २०८१, शनिबार
Follow Us

जहाँ रगत माग्दै सेनाको ब्यारेकमा फोन गरिन्छ

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७६, मंगलवार १३:२६



डोटी । जिल्लामा वर्षौंदेखि ब्लड बैंक सञ्चालन गर्न नसकेको जिल्ला अस्पताल डोटीले रगत चाहियो कि नेपाली सेनाका व्यारेकमा फोन लगाउने गरेको छ । जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएको करीब पाँच वर्ष बित्न लाग्दासमेत उक्त बैंक सञ्चालनमा आउन सकेको छैन ।

ब्लड बैंक सञ्चालन गर्न नसक्दा अस्पतालले रगतका लागि नेपाली सेनालाई गुहार्ने गरेको हो । अस्पतालमा शल्यक्रिया गर्नुपर्नेलगायत बिरामीलाई आवश्यक पर्ने रगत नेपाली सेनाले उपलब्ध गराउँदै आएको छ ।

जिल्ला अस्पतालसहित अन्य कुनै पनि अस्पतालबाट रगत चाहियो भन्दै फोन आएपछि रक्तदान गर्न सेनाका जवान जाने गरेको सिलगढीमा तैनाथ रहेको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “हाम्रो रगत पाएमा बिरामी बाँच्छ भने किन रगत नदिने भन्ने लाग्छ, त्यसैले हामी जहिले जहाँ पनि रगत दिन तयार हुन्छौँ ।”

उक्त गणमा रहेका नेपाली सेनाका जवानदेखि अधिकृतहरू आवश्यक परेमा रगत दिन तयार हुने गरेका छन् । रगत दिनेहरूलाई ब्यारेकले एक हप्तासम्म गरुङ्गो अर्थात भारी काम (धेरै पसिना) आउने काममा नलगाउने, आरामको सहुलियत दिने, हप्ता दिनसम्म पोषिलो खानेकुरा दिने गरेको गणपति खड्काले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामस्वार्थ यादवले जिल्ला स्वास्थ्य कार्यालयसँग रहेको ब्लड बैंक धेरै लामो समयसम्म रगत राख्न सक्ने क्षमताको नहुँदा सञ्चालनमा नआएको र रगतको समस्या आए ब्यारेकबाट माग्ने गरेको बताए ।