७ बैशाख २०८१, शुक्रबार
Follow Us

हवाई आक्रमणमा परी ११० विद्रोही मारिए

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार १०:१९

काबुल- अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् ।

घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान र फार्याब प्रान्तमा मङ्गलबार राति आक्रमण भएको एक जना सैनिक प्रवक्ताले बुधबार जनाएका छन् ।

सेनाका उत्तरी क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले दिएको जानकारी अनुसार तालिवान लडाकूहरुले अखडा बनाएर राखेको थाहा पाएर सुरक्षाकर्मीहरुले ती ठाउँमा आक्रमण गरेका हुन् ।

सारी पुलको क्वाशक्वारी क्षेत्र, फर्याबको क्वारामक्वाल जिल्ला र जावज्वान प्रान्तको गार्डानमा सुरक्षा कारबाही गरिएको हो ।

सैन्य अधिकारीहरुका अनुसार आक्रमणमा परी ५० भन्दा बढी लडाकूहरु घाइते भएका छन् भने सुरक्षाकर्मी र आम नागरिकतर्फ कोही घाइते भएका छैनन् ।

अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा अवस्थालाई मजबुद गराउने उद्देश्यले सुरक्षा कारबाही आक्रामक गराइएको प्रवक्ता रेजाईले बताए ।