४ बैशाख २०८१, मंगलवार
Follow Us

जापानमा ‘नेपाल फेस्टिवल’को तयारी तीब्र 

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार १५:४६

  नारायण रिमाल । टोकियो — जापानको गुन्माकेनमा पहिलो पटक हुन लागेको ‘नेपाल फेस्टिवल २०१९ गुन्मा’को तयारी तीब्र पारिएको छ। नेपाली साझा समाजको आयोजनामा यही सेप्टेम्बर २८ र २९ तारिखमा हुने मेलालाई सफल बनाउन प्रचारप्रसारलाई तीब्रता दिएको हो। सह आयोजककोरुपमा जापानको सरकारी निकायलेसमेत व्यवस्थापन र प्रचारप्रसारमा सघाएको छ। फेस्टिवलमा यहाँकाे आइजिमी नगरपालिका सह आयोजकको रुपमा रहेको छ।

नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार गर्नुका साथै आफ्नो सामाजिक सञ्जालमार्फत समेत प्रचारप्रसारको काम गरेको छ। आइजिमी माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा आइजिमी प्रहरी प्रमुखसहित यहाँका सांसदको समेत उपस्थिति रहने आयोजक नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धिशेरचनले जानकारी दिए। फेस्टिवलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारसहित नेपालको कला, संस्कृती तथो पर्यटकीय क्षेत्रबारेमा जानकारी दिइने छ।

गुन्मा नेपाल फेस्टिवल २०१९ लाई सफल बनाउन आसा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागीता रहने भएको छ। गायक सुर्य खड्कासहित भरत सुनुवार, खड्क पुन, बिनोद गुरुङ, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुङ, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजासहितको सांगितिक प्रस्तुती दिने छन्। यसैगरि देउराली पञ्चे बाजा समूह टोकियो लगायत जापानमा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहनेछ।

रञ्जय अमात्यको संयोजकत्वमा गठित कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तीब्रता दिएको छ। नेपाल भ्रमण वर्षमा जापानी पर्यटक आकर्षित गर्ने लक्ष्यसहित फेस्टिवलमा नेपाली भेषभूषा र कला संस्कृति झल्किने विभिन्न सामग्री र मुख्य आकर्षणकोरुपमा रहने समाजका अध्यक्ष शेरचनले बताए।

सेप्टेम्बर २८ र २९ तारिख दुई दिने फेस्टिवल गुन्मा केन ओइजुमी माचीस्थित ईजुमी नो मोरिमामा हुँदैछ। नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकायनै सह आयोजक भएर प्रचारप्रसार गरिरहेकोे यो नै पहिलो पटक हो।