८ बैशाख २०८१, शनिबार
Follow Us

पेरिस सेन्ट जर्मन (पीएसजी) लाई घरेलु मैदानमै रेइम्सको नमिठो झट्का

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७६, बिहीबार ०२:४४

स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्न नसकेपछि साविकक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) लाई घरेलु मैदानमै रेइम्सको नमिठो झट्का लागेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजी रेइम्ससँग २–० गोलले पराजित भयो । जारी लिगमा सातौं खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । यसअघि पीएसजी रेनेससँग २–१ गोलले पराजित भएको थियो । घरेलु मैदानमा भने पीएसजीले १६ महिनापछि हार खेपेको हो । रेइम्सको जितमा २९औं मिनेटमा हसाने कामराले पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा बोउलाय डियाले गोल गर्दै रेइम्सको जित पक्का बनाए ।

 

बल पोजीसनका पकड जमाएपनि पीएसजीको गोल गर्ने प्रयास सफल हुन सकेन । हारपछि पीएसजी शीर्ष स्थानमा यथावत छ । पीएसजीको सात खेलबाट १५ अंक छ । समान १५ अंक बनाएको एन्जर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । आठौं स्थानमा रहेको रेइम्सको ११ अंक छ । बुधबार रातिनै भएको खेलमा एन्जर्सले टोउलुसे २–० गोलले पराजित गरेको हो । अर्को खेलमा तेस्रो स्थानको लिलेले स्टारबर्गलाई २–० गोलले नै हरायो । जितसँगै लिलेले सात खेलबाट १३ अंक बनाएको छ ।