१६ चैत्र २०८०, शुक्रबार
Follow Us

माओवादी केन्द्रले संविधान संशोधनमा साझा धारणा तय गर्ने

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०८:०२

संविधान संशोधनका विषयमा साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल सुरु गरेको छ । संविधान संशोधनमा सरकार र सत्तारुढ गठबन्धनले आलटाल गरिरहेको आरोप लगाउँदै मधेस केन्द्रित दलले सरकारको समर्थन फिर्ता लिन सकिने चेतावनी दिएपछि सरकार नेतृत्व माओवादी केन्द्रले त्यसबारे आन्तरिक छलफल सुरु गरेको हो ।
केन्द्रीय कार्यालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक सहमति जुटाएर संविधान संशोधन गरिने भन्दै त्यसबारे पार्टीभित्र एक धारणा हुनुपर्ने बताएका थिए ।
केहि नेताले भने सीमाङ्कन हेरफेर र अंगीकृत नागरिकलाई बिशिष्ट पद दिने विषयले दुरगाामी प्रभाव पार्ने भन्दै हतारमा निर्णय नलिन नेतृत्वको ध्यानाकर्षण गराएका थिए । नेताहरुको बोल्ने क्रम जारी रहेका कारण बैठक शुक्रवार पनि बस्ने छ ।
बैठकमा संविधान संशोधन र राष्ट्रिय सम्मेलनबारे प्रारम्भिक छलफल भएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । अख्तियार प्रमुख लोकमानसिंह कार्र्कीबिरुद्धको महाअभियोग प्रस्तावबारे पनि बैठकमा छलफल भएको थियो । जारी बैठकमा सरकारको काम–कारवाहीबारे पनि समिक्षा हुने बताइएको छ ।