१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘अल्पविकसित देशलाई अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य’

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७६, शुक्रबार ११:००

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई बिहीबार सम्बोधन गर्दैे विकासको मार्गका संरचनागत अवरोधले ती देशको समृद्धि र प्रगति दुरुह भएको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय समुदायबाट बजारसम्मको पहुँचको सुनिश्चितता, भन्सार र गैरभन्सार अवरोध एवं परिमाणात्मक बन्देज हटाउने, क्षमता विस्तार तथा प्रविधि हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ कार्यान्वयनको चार वर्ष पूरा भएको पहिलोचरणको ‘अदिसअबाबा’ कार्यक्रमको कार्यसूचीको स्मरण गराउँदै उहाँले महासभाअन्तर्गतका विकासका लागि लगानी र उच्चस्तरीय राजनीतिक मञ्चमा पनि विश्वका नेताले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति थप काम गर्नुपर्नेमा जोड दिएका बताउनुभयो । कार्यक्रम कार्यान्वनलाई द्रुत गतिमा अघि बढाउन अपरिहार्य भएको विश्वका नेताहरूको अभिव्यक्ति मन्त्री ज्ञवालीले बैठकमा अवगत गराउनुभयो ।

“विकास–निर्माणका काममा पर्याप्त लगानी नहुँदा विकासले गति लिन नसकेको, निर्धनतम देशहरू विकासका संरचनागत र आर्थिक अस्थितरतासँगै जलवायु परिवर्तनका दुष्प्रभावबाट गाँजिएका छन्,” मन्त्री ज्ञवालीले अल्पविकसित राष्ट्रका विकासका समस्या प्रष्ट पार्दै भन्नुभयो । अल्पविकसित देशलाई प्राविधिक, वित्तीय र लगानीगत सहयोग आवश्यक भएको बताउँदै उहाँले ती देशका वास्तविक अनुरोधको अझै सुनुवाई नभएको यथार्थ सुनाउनुभयो । व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तनविरुद्ध डटेर लड्न सक्ने क्षमता अभिवृद्धि र गरिबी घटाउने क्षेत्रमा पनि अतिकम विकसित राष्ट्रलाई अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएको मन्त्री ज्ञवालीको कथन थियो । “नेपाल आर्थिक विकासका निम्ति दृढ छ, नेपाल सरकारले दीर्घकालीन विकासको परिकल्पना साकार पार्न १५ औँ पञ्चवर्षीय योजना अनुमोदन गरेको छ ।

हामीले दिगो विकासका लक्ष्यलाई निर्धारित समयमा नै हासिल गर्न तिनलाई हाम्रा स्थानीय नीति तथा कार्यक्रममा समावेश गरेका छौँ । वित्तीय अभाव परिपूर्ति हाम्रा निम्ति चुनौतीपूर्ण भएको छ, त्यसैले हामीले बाह्य लगानी आकर्षणको भरमग्दुर प्रयास गरेका छौँ”, अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको प्रयास र त्यस दिशामा झेल्नुपरेका व्यवधानको चर्चा गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । बिहीबार नै मन्त्री ज्ञवालीले आयरल्याण्डका युरोपेली मामिलाका राज्यमन्त्री हेलेन म्याकेन्टीसँग भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विविध विषयमा विचारविमर्श भएको थियो । त्यसैगरी मन्त्री ज्ञवालीले साङ्घाइ सहयोग सङ्गठन (एससीओ) महासचिव भ्लादिमिर नोरोभसँग पनि भेटवार्ता गर्नुभयो । परराष्ट्रमन्त्रीलाई महासचिव नोरोभले एससीओका गतिविधि, पर्यवेक्ष र ‘डाइलग पार्टनर’सँग सहयोगका मार्गचित्रबारे जानकारी गराउनुभएको थियो । नेपाल एससीओको डाइलग पार्टनर हो ।