१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद : नयाँ लिस्ट तयार गर्दै क्षेत्रीय संयोजक जोशी

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार ०४:२९

 होमप्रसाद लम्साल । अमेरिका । गैरआवासिय नेपाली संघ अमेरिकाले आगामी आईसिसि निर्वाचनका लागि छनौट गरिएका प्रतिनिधि छनौट प्रक्रिया आईसिसिको मापदण्ड अनुसार नभएको भन्दै विवादमा परेको छ। एनआरएन अमेरिकाले वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा गठित प्रतिनिधि छनौट समितिले अन्तिम नामावली सार्वजनिक गरेपछि विवाद सतहमा आएको हो।

समितिले तेश्रो लिष्ट सार्वजनिक गरेसंगै कार्यसमितिका १३ सदस्यद्धारा नामावली सच्याउन माग गर्दै आईसिसिमा प्रतिनिधि छनौट प्रक्रियामा मापदण्ड मिचेको, कार्य समितिलाई बाईपास गरिएको, नामावली कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने माग राख्दै निवेदन दिएका थिए। निवेदनलगत्तै क्षेत्रिय संयोजक गौरी जोशीले प्रकाश सापकोटाको संयोजकत्वमा नामावली पुर्नमूल्यांकन गरी मापदण्ड पुगेको तर छुटेका व्यक्तिहरुको नामावली तयार गर्न एक समिति गठन गरेका छन्। आईसिसिमा उजुरी दिएकामध्ये सचिव अमृत कट्टेलले दिएको जानकारी अनुसार आजै सम्पन्न एनसिसि बैठकमा प्रतिनिधि छनौटका विषयमा अध्यक्ष सुनिल शाहले गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गल्ती नगर्ने बताए पनि प्रतिनिधि लिष्ट सच्याउन भने ईन्कार गरेका छन्। कार्यसमितिमा बहुमत सदस्य प्रतिनिधि नामावली सच्याउनुपर्ने पक्षमा रहेका छन्।

उता एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहले प्रतिनिधि छनौटको विषयमा विवाद भएको आफुलाई कुनै आधिकारिक जानकारी नभएको बताए। प्रतिनिधि छनौट गर्दा आईसिसिको मापदण्ड किन पुरा गर्न सकिएन भन्ने प्रश्नमा उनले भने आईसिसिले भनेको मापदण्ड अक्षरस पालना गर्न सकिने अवस्था थिएन र सकिन्न पनि त्यसैले एनसिसिले दिएको मापदण्ड र एनसिसिमा योगदान दिएका व्यक्तिहरुको आधारमा छनौट गरिएको दावी गरे। विवाद उत्पन्न भएपछि निरुपण गर्न अग्रसर क्षेत्रिय संयोजक जोशीले नागरिकसंग भने लिष्ट सार्वजनिक भएपछि कार्यसमितिभित्र र बाहिरबाट असन्तुष्टिसंगै व्यापक उजुरीहरु परेपछि समिति गठन गरिएको र सो समितिले दिएको प्रतिवेदन अनुसार सार्वजनिक लिष्ट संशोधन हुने र त्यहि लिष्ट आईसिसिबाट मान्यता पाउने बताए।

आईसिसि महासचिव डा बद्री केसिले पनि आईसिसिले विधानत क्षेत्रिय संयोजकहरुको हस्ताक्षर विनाका कुनै पनि एनसिसिहरुको प्रतिनिधि नामावली आईसिसिले स्वीकार गर्न नसक्ने बताए। उनले भने कुनै पनि एनसिसिमा विवाद होस् वा नहोस् क्षेत्रिय संयोजकहरुले हस्ताक्षर गरेर दिने प्रतिनिधिहरुको नामावली नै आधिकारिक र अन्तिम हुनेछ। विधानमा पनि केन्द्रिय प्रतिनिधिहरुको नामावली सम्बन्धित एनसिसिले क्षेत्रीय संयोजकहरुमार्फत आईसिसिमा बुझाउने पर्ने प्रावधान रहेको छ। तर एनसिसि अमेरिकाले क्षेत्रिय संयोजकलाई जानकारीसम्म नदिएर प्रतिनिधिहरुको नामावली आईसिसिमा पठाएपछि विवाद बढेको बताइएको छ।

विवाद समाधान गर्न गठित समितिका संयोजक सापकोटाले अक्टोबर ३ तारिकभित्र आफुले पाएको जिम्मेबारी अनुसार नामावली संकलन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। प्राप्त जिम्मेवारी अनुसार एनसिसि अमेरिकालाई पत्राचार गरेको तर कुनै जवाफ नआएको संयोजक सापकोटाले बताए। आईसिसिको विभिन्न समितिमा लामो समयदेखि काम गरेका व्यक्तिहरु प्रतिनिधिको लिष्टमा छुटेर नयाँ तथा आईसिसि र एनसिसिमा खासै योगदान नदिएका व्यक्तिहरु परेका छन्।