११ बैशाख २०८१, मंगलवार
Follow Us

९ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा कृष्ण तिमल्सिना (प्रतिवद्धतापत्रसहित)

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार ०५:४८


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप उपसंयोजक पदका उम्मेदवार कृष्ण प्रसाद तिमल्सिनाले आफ्नो ९ बुँदे चुनावी (घोषणापत्र सार्वजनिक गरेका छन् ।
आइतबार लण्डनमा पत्रकार सम्मेलन गरेर तिमल्सिनाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
आफ्नो चुनावी प्रतिवद्धतामा तिमल्सिनाले युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विषेश च्यारिटी कार्यक्रमको आयोजना गरी आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् ।


यस्तै गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरुलाई कार्यान्वन गर्न लागिपर्ने, संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्ने, खर्च विवरणलाई पारदर्शी बनाउने, युरोपमा हुर्किएका दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसँग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन पनि उनले प्रतिवद्धता जनाएका छन् ।
सन् २००७ देखि एनआरएनमा आवद्ध तिमल्सिना एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७) र नेपालमा लगानी प्रवद्र्धन, नीति तथा पोलिसी, मानवीय तथा परोपकारी कार्यदलका सदस्य समेत हुन् ।
बेलायत निवासी तिमल्सिना गैरआवासीय नेपाली संघ, युकेको सल्लाहकार (सन् २०१७), गैरआवासीय नेपाली संघ, युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९, गैरआवासीय नेपाली संघ, युकेका उपाध्यक्ष (सन् २०१३–१५, गैरआवासीय नेपाली संघ, युकेको कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहिसकेका छन् ।
बेलायतमा समाजसेवी छवी बनाएका उनी सेफ एसोसियसन युकेका संस्थापक अध्यक्ष समेत हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ९ औँ विश्व सम्मेलन तथा महाधिवेशन
१५–१७ अक्टोबर, २०१९
मेरो प्रतिबद्धता पत्र
आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनी,
नमस्कार !
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ भन्ने यहाँहरु सबैमा सर्वविदितै छ । विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ स्थापना भएको थियो । जुन अहिले देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै गएको कहीँ कतै छिपेको छैन ।
सन् २००३ मा जुन उद्देश्यका साथ गैरआवासीय नेपाली संघ स्थापना भएको थियो, सोही भावनाअनुरुप म यो संस्थामा निरन्तर सक्रिय रुपमा लाग्दै आएको छु । गैरआवासीय नेपाली संघ युकेको साधारण सदस्य, उपाध्यक्ष हुँदै संघको केन्द्रीय सदस्यलगायत विभिन्न पदमा रहेर मैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको यहाँहरुलाई अवगत नै छ । स्थापना कालदेखि नै संघले मार्गदर्शन गरेका सामाजिक र आर्थिक क्षेत्रमा विभिन्न काममा आफूलाई सक्रिय रुपमा राख्दै आएको छु । संघभित्र लामो समयदेखि मैले बटुलेको अनुभवबाट मातृभूमिमा पूँजी मात्रै नभइ ज्ञान, सीप र प्रविधिको लगानीको लागि मार्गप्रशस्त भएको विश्वास लिएको छु ।
संघको लामो अभियानले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली ऐन, लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् । ती उपलब्धिहरुलाई रक्षा गर्न तथा संस्थागत विकासको लागि आगामी दिनमा सबल र अनुभवी नेतृत्वको आवश्यकता महशुस गरेको छु ।
देश निर्माणमा अहिले एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी आएको छ, त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्नुपर्नेमा अहिले टड्कारो आवश्यकता देखिएको छ । मैले विगत १८ वर्षको बेलायत बसाईँले युरोपस्थित गैरआवासीय नेपालीहरुको भूमिका र महत्वलाई नजिकबाट हेर्ने अवसर प्राप्त गरेको छु ।
युरोप क्षेत्रमा रहेका २८ देशमा छरिएका नेपाली समुदायको हकहितको लागि आगामी दिन समर्पित हुने उद्देश्यले संघको आगामी महाधिवेशनमा आफूलाई युरोप उपसंयोजकको उम्मेदवारको रुपमा यहाँहरु समक्ष प्रस्तुत गरेको छु ।
आफ्नो अनुभव र युरोपस्थित गैरआवासीय नेपालीहरु, अग्रज, पदाधिकारी तथा विभिन्न संघसंस्थासँगको परामर्शपछि मैले यो पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।
मेरो विगतको अनुभव, सक्रियता, सम्पर्क र सामाजिक छविलाई मूल्यांकन गरेर अमूल्य भोट दिई युरोप उपसंयोजक जस्तो गरिमामय पदमा अत्याधिक मतले विजयी गराउनु हुन आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुमा बिनम्रतापूर्वक अनुरोध गर्दछु । यहाँहरु सबैबाट सहयोग पाउने विश्वासका साथ आफूलाई एनआरएनए अभियानमा थप सक्रिय पार्ने प्रतिबद्धता जनाउँदै निम्न १० बुँदे कार्ययोजना पेश गर्दछु ।
१. युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विषेश च्यारिटी कार्यक्रमको आयोजना गरी आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी मैले गर्ने छु ।
२. गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरु, नेपालमा सामूहिक लगानी कोष, नागरिकताको निरन्तरता, भूपुगोर्खा लगायतका मुद्धाहरुलाई आगामी नयाँ कार्यसमितिको सहयोग सहकार्यमा कार्यान्वन गर्न लागिपर्नेछु ।
३. संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्न आयोजक राष्ट्रबीच प्रतिस्पर्धी बनाइ प्रष्ट कार्ययोजना सहितको प्रपोजलका आधारमा आयोजक राष्ट्रको चयन गरिने छ ।
४. गैरआवासीय नेपाली संघका क्षेत्रीय बैठकमा भएको खर्च विवरणलाई पारदर्शी बनाइने छ ।
६. हाल युरोप क्षेत्रमा निस्क्रिय संघ तथा राष्ट्रिय समितिलाई निर्वाचित भएको ३ महिनाभित्र सक्रिय बनाउन पहल गर्नेछु ।
७. युरोपस्थित नेपाली समुदायमा हुर्किँदो दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसँग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन गर्नेछु ।
८. युरोपियन युनियन लगायत यहाँका संघ संस्था तथा व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न आवश्यक पहल गर्नेछु ।
? युरोपमा रहेका राष्ट्रिय समन्वय परिषद्लाई थप सक्रिय बनाउन तथा अझ संस्थागत बनाउँदै सबैको एनआरएनए भन्ने भावनालाई जागृत गराउन लागिपर्नेछु ।
१० युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा केन्द्रसँगको समन्वयमा आवश्यक पहल गर्नेछु ।

संस्थागत आबद्धता
केन्द्रीय सदस्य, गैरआवासीय नेपाली संघ (२०१५–०१७)
सल्लाहकार, गैरआवासीय नेपाली संघ, युके (सन् २०१७)
अध्यक्ष प्रत्यासी गैरआवासीय नेपाली संघ, युके (सन् २०१७–१९)
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, युके (सन् २०१३–१५)
कार्यसमिति सदस्य, गैरआवासीय नेपाली संघ, युके (सन् २०११–०१३)
संस्थापक अध्यक्ष, सेफ एसोसियसन् युके (सन् २०१२)
नेपालमा लगानी प्रवद्र्धन, नीति तथा पोलिसी, मानवीय तथा परोपकारी कार्यदल सदस्य

अन्त्यमा, युरोप उपसंयोजकका रुपमा संस्थामा रहेर केही गर्ने मेरो चाहनालाई सफल बनाउन म सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु । यहाँको अमूल्य मत कुनै पनि हालतमा खेर जान नदिने प्रतिवद्धता पनि दोहो-याउन चाहन्छु ।

कृष्ण प्रसाद तिमल्सिना
युरोप उपसंयोजक उम्मेदवार
गैरआवासीय नेपाली संघ (एनआरएनए)
२५ सेप्टेम्बर, २०१९