८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन  नवौं विश्व सम्मेलनको तयारी तिब्र, ६५ देशमा अधिवेशन सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार ११:५३
 
‘ विश्व सम्मेलनलाई राष्ट्रपति र प्रधानमन्त्रीले सम्वोधन गर्ने’
 
चिरन शर्मा । लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को  आगामी  अक्टोवर १५ देखी १७ सम्म काठमाण्डौंमा हुने  नवौंँ विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।
 
आइतवार लण्डनमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव बद्री केसीले ‘‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोवरमा राष्ट्रपति भण्डारीले गर्ने निश्चित भएको जानकारी दिए । यस्तै सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
‘हामीले यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीज्यू र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कार्यक्रमको निमन्त्रणा दिइसकेका छौं । उहाँहरुले सहभागिताबारे समय दिइसक्नु भएको छ’ केसीले भने ।
 
मुख्य आयोजक नेपाल सरकार रहने सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघसँग समेत सहकार्य गरिएको छ । सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले एक कमिटी गठन गरिसकेको छ भने एनआरएनले अर्को अर्को आन्तरिक कमिटी पनि गठन गरेको महासचिव केसीले जानकारी दिए ।
 
नेपाल सरकार परराष्ट्र मन्त्रालायमा दर्ता भएको संस्था भएको र मुख्य आयोजक समेत भएकाले मन्त्रालय कार्यक्रम सफल बनाउन सक्रियतापूर्वक लागिपरेको केसीको भनाई छ ।
 
सम्मेलनमा अध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्नुका साथै आर्थिक, सांगठनिक प्रतिवेदन पनि पेश हुनेछ । यस्तै विधानमा गर्नुपर्ने परिवर्तका विषयमा पनि बैठकमा गम्भीर छलफल हुनेछ ।  यस्तै सबै राष्ट्रिय समन्वय परिषद्को एकमुष्ट कार्यप्रगति सम्बन्धित  क्षेत्रीय संयोजकले  प्रस्तुत गर्नेछन् ।  सम्मेलनमा करीब २५०० प्रतिनिधि सहभागी हुने हुँदा काठमाडौंस्थित ह्यात होटलमै गर्नुपरेको केसीको भनाइ छ । होटलको विकल्पमा अन्य स्थानसमेत छनोट भएपनि अन्त सम्मेलन गर्न सम्भव नदेखिएको उनले बताए ।
 
उनका अनुसार नेतृत्व चयनका लागि हुने निर्वाचन करीब ४ घण्टामै सक्नेगरी निर्वाचन कमिटीलाई निर्देशन दिइएको छ भने निर्वाचनमा प्रविधिको प्रयोग गरिने हुँदा तत्काल नतिजा पनि आउनेछ । यस्तै सम्मेलनका देखाउन मिल्नेजरी गतिविधिलाई बाहिर सम्मेलन परिसरमा हेर्न मिल्ने व्यवस्था पनि मिलाइएको केसीले जानकारी दिए ।
सम्मेलनमा नेपाललाई कसरी समृद्ध बनाउने भन्नेबारे विचार विमर्श गर्दै लगानीका विविध सम्भावनाबारे पनि विचार विमर्श गरिनेछ ।
 
सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने कुरा भएपनि सरकारी आयोजनामै हुने कार्यक्रम भएकाले कुनै प्रभाव नपर्ने उनले दाबी गरे ।
 
उनले संघमा राजनीति नचल्ने भएपनि नेपालमा भने राजनीतिक दलसँग सहकार्य गरेर काम गरिरहेको बताए । ‘हाम्रो संस्थामा राजनीति चल्दैन । तर हाम्रा चासोहरु सम्बोधनका लागि नेपालमा भने पोलिटिकल सहकार्यबिना सम्भव हुँदैन । उहाँहरुको सहयोग नरहेको भए एनआरएन नागरिकता नागरिकता आउँदैनथियो’ उनले भने, ‘राजनीति उहाँहरुकै पहलमा अबको ५–६ महिनाभित्र तपाई हाम्रो हातमा नागरिकता आउँछ ।’ उनले नयाँ पुस्तालाई एनअराएन नागरिकता लिन कुनै समस्या नहुने अवस्था सिर्जना रहेको भन्दै निकट भविष्यमै विदेशी भूमिबाटै नेपाली नागरिकता रहेको अवस्थामा मताधिकार प्रयोग गर्न सक्ने अवस्था बन्न लागेको सो क्रममा बताए ।
 
उनले हालसम्म ८१ मध्ये ६५ देशका राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भएको भन्दै केही देशमा भने प्राविधिक कारणले सम्पन्न हुन नसकेको जानकारी आएको बताए । राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भएसँगै त्यहाँबाट प्रतिनिधि चयन भएपछि विश्वसम्मेलनमा सहभागी हुन पाइन्छ । सम्मेलनमा करीब २५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
सो क्रममा एनआरएन अभियन्ता संगीता मरहठ्डाले अन्तर्राष्ट्रिय महिला संयोजक र कृष्ण तिमल्सिनाले युरोप उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गरेका थिए ।
 
आफ्नो घोषणापत्र सार्वजनिक गर्दै मरहठ्ठाले महिलाको कार्यक्षेत्रलाई चुस्त र बनाउने तथा उनीहरुको  काम कर्तब्य र अधिकारलाई स्पष्ट बनाउने,  महिला सशक्तीकरणका लागि पहल गर्ने, राष्ट्रिय समन्वय परिषद्मा महिलाको प्रतिनिधित्व बढाउन पहल गर्नेलगायतका काम गर्ने प्रतिवद्धता जनाइन् ।
 
यस्तै तिमल्सिनाले गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्त्वपूर्ण मुद्दाहरु कार्यान्वन गर्न लागिपर्ने,  संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्न लागिपर्ने, क्षेत्रीय बैठकमा भएको खर्च विवरणलाई पारदर्शी बनाउने, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा केन्द्रसँगको समन्वयमा आवश्यक पहल गर्ने लगायतका ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरे ।
 
कार्यक्रममा केन्द्रीय सदस्य रामशरण सिम्खडा, एनआरएन इंल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुनिल खड्का, एनआरएन युकेका महासचिव फणिन्द्र भट्टराई, एनआरएन अभियन्ता लगायतको सहभागीता रहेको थियो ।